काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी विदेश भ्रमणमा हुँदा दुवै निकायको दैनिक कामकाजमा समस्या भएको छ ।
एकै पटक दुवै कार्यालयका प्रमुखहरु विदेश भ्रमणमा निस्किएपछि दैनिक कामकाजमा समस्या भएको स्रोतले जानकारी दियो । प्र्राधिकरणका महानिर्देशक पोखरेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)को सम्मेलनमा सहभागी हुन थाइल्याण्डको बैंककमा पुगेका छन् भने विमानस्थलमा महाप्रवन्धक केसी फ्रान्समा छन् ।
पाँच महिनामा क्यानका महानिर्देशक चार पटक विदेश भ्रमण गरिसकेका छन् । प्राधिकरण प्रमुख र प्राधिकरण अन्तर्गतकै विमानस्थल प्रमुख एकैसाथ विदेशमा हुँदा दैनिक कामकाजमा समस्या भएको सम्बन्धित निकायका कर्मचारीले जानकारी दिए ।
पोखरेल चार दिनको लागि विदेश पुगेका हुन् भने केसी एक साताका लागि फ्रान्स पुगेका हुन् । यहि समयमा तालुक मन्त्रालयका मन्त्री योगेश भट्टराई पनि विदेशमा छन् । मन्त्री विदेशमा रहेको बेला दुवै प्रमुखहरु विदेश गएको प्राधिकरण उच्च स्रोतले बतायो ।
क्यानका प्रमुख र विमानस्थलका प्रमुख एक साथ विदेशमा गएको सम्भवत पहिलो भएको एक अधिकारीले जानकारी दिए । दैनिक रुपमा एयर ट्राफिक जाम बढिरहेको र त्यसका लागि नियमित जस्तो बैठक भएको बेला दुई प्रमुख विदेशमा भएको एक कर्मचारीले बताए ।
यसअघि सञ्जीव गौतम क्यानको महानिर्देशक हुँदा एकैपटक महानिर्देशक र विमानस्थलका महाप्रबन्धक विदेश जान नहुने भन्दै तत्कालिन विमानस्थल प्रमुखलाई रोकेका थिए ।
दुई निकायका प्रमुखहरु नहुँदा आर्थिक कारोबार र सैद्धान्तिक निर्णय गर्न समस्या भएको क्यानका एक उच्च अधिकारीले बताए ।
विमानस्थलले उचित व्यवस्थापन गर्न नसकेकै कारण अहिले दैनिक रुपमा जहाजहरु डिले हुदै आएको छ । १ देखी ३ घण्टासम्म जहाज डिले हुदा चौतर्फि विरोध हुन थालेको छ ।
क्यानका निमित्त प्रमुख नरबहादुर थापाले दुबै प्रमुखहरु विदेश जानु संयोग मात्र भएको बताएका छन् । उनले दुबै प्रमुखहरु छुट्टाछुट्टै कार्यक्रममा गएको जानकारी दिए । यसबाट कार्यालयको दैनिक कामकाजमा कुनै समस्या नभएको उनले दावी गरे ।केसीले विमानस्थलको निमित्त महाप्रबन्धकको जिम्मेवारी सुरेशमान सिंहलाई दिएका छन् ।