काठमाडौं। दिनहुँ व्यावसायिक वातावरण बिग्रिँदै गएपछि चालू आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा पाँच प्रतिशत पुग्ने अनुमान बैंकरहरूले गर्न थालेका छन्।
असार, असोज र पुसमसान्तमा ऋणीले तिरेको ऋणका आधारमा बैंकरहरूले चालू आर्थिक वर्षभित्र खराब कर्जा पाँच प्रतिशत पुग्ने अनुमान गरेका हुन्।
‘पुसमसान्तसम्म आइपुग्दा खराब कर्जा २.२८ प्रतिशत पुगिसकेको छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले क्यापिटल नेपालसँग भने, ‘अहिलेको अवस्था विश्लेषण गर्दा पाँच प्रतिशत जति खराब कर्जा पुग्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ।’
उनका अनुसार ठ्याक्कै पाँच प्रतिशत नै पुग्छ भन्ने त होइन्, व्यवसायीको ऋण तिर्न सक्ने क्षमता विस्तार भए अहिले भइरहेको खराब कर्जाको प्रतिशत पनि घट्न सक्छ। तर, व्यावसायिक वातावरण नसुध्रिए तथा सरकारले पुँजीगत खर्च नगरे बैंकको खराब कर्जा बढ्न सक्छ।
व्यावसायिक वातावरण बिग्रिएको र ऋणीले बैंकलाई बुझाउनुपर्ने सावाँ, ब्याज तथा किस्ता बुझाउन नसकेपछि बैंकको खराब कर्जा १ खर्ब हाराहारी पुगेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले हालसम्म ४२ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। पुस मसान्तसम्म ४२ खर्ब ४९ अर्ब लगानी गरेका थिए।
पुस मसान्तसम्म बैंकहरूको खराब कर्जा औसतमा २.२९ प्रतिशत पुगेको थियो भने चैत मसान्तसम्म २.५० प्रतिशत पुग्ने अनुमान छ।
पुससम्म बैंकहरूको खराब कर्जा ९७ अर्ब ९६ करोड रुपैयाँबराबर कर्जाको साँवा र किस्ता तीन महिनादेखि नउठेर खराब भएको हो। गत आर्थिक वर्ष पुस मसान्तसम्म बैंकहरूको औसत खराब कर्जा १.०६ प्रतिशत थियो।
तर, चालू आर्थिक वर्ष पुस मसान्तसम्म १ खर्ब ६ करोड रुपैयाँबराबर कर्जाको साँवा र किस्ता तीन महिनादेखि नउठेर खराब हुन सक्ने बैंकरको अनुमान छ। यदि चालू आर्थिक वर्षभित्र पाँच प्रतिशत खराब कर्जा पुगेको अवस्थामा सहजै २ खर्ब रुपैयाँ खराब कर्जा पुग्ने अनुमान भइरहेको छ।
निश्चित समयभित्र भुक्तान गर्ने गरी बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दिएको ऋण उठ्न छाडेसँगै खराब कर्जा निरन्तर बढ्दै गएको बैंकर बताउँछन्।
गत पुससम्म बैक तथा वित्तीय संस्थाको खराब कर्जा औसतमा २.२८ प्रतिशत पुगिसकेको छ। चैतमा खराब कर्जाको दर अझ बढ्ने बैंकरको अनुमान छ।
केन्द्रीय बैंकले नियमित साँवा, ब्याज तथा किस्ता तिरिरहेका ऋणीलाई एक महिना नतिरे पनि ‘पेनाल’ नलाग्ने व्यवस्था गरेसँगै चैतमा धेरै ऋणीले त्यसको फाइदा उठाउन सक्छन्।
बजारमा औद्योगिक उत्पादन माग २० देखि ३० प्रतिशतमा खुम्चिएको छ। मूल्यवृद्धिका कारण उपभोक्ताले उपभोग कटौती गरिरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य आकासिएको छ।
औद्योगिक उत्पादन लागत बढ्ने तर मागमा गिरावट आइरहेका कारण धेरै व्यवसायीले चैतमा बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने किस्ता, साँवा–ब्याज बुझाउन नसक्ने अवस्था आउने बैंकरको अनुमान छ।
बैंकर्स संघ अध्यक्ष केसी चालू आर्थिक वर्ष अन्त्यसम्म खराब कर्जा पाँच प्रतिशत हाराहारी पुग्ने अनुमान गर्छन्।
‘अहिले नै साढे २ प्रतिशतहाराहारी पुगिसकेको अवस्था छ,’ उनले भने, ‘चालू आर्थिक वर्ष अन्त्यसम्म अधिकतम पुग्यो भने पाँच प्रतिशत होला। त्योभन्दा माथि त जाँदैन कि!’
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाको अनुमान चालू वर्ष बैंकको खराब कर्जा आठ प्रतिशत पुग्ने छ। आठ प्रतिशत खराब कर्जा पुग्ने बित्तिकै अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पुग्छ।
खराब कर्जा आठ प्रतिशत पुग्ने बित्तिकै त्यसो सिधा असर नेपालको पुँजी बजारमा पुग्ने गोल्छाको अनुमान छ। पुँजी बजारमा वित्तीय क्षेत्रको भार ५५ प्रतिशत छ। त्यसमध्ये पनि सबैभन्दा बढी बैंकिङ क्षेत्रको योगदान छ।
यसरी खराब कर्जा ८ प्रतिशत पुग्ने बित्तिकै बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य नाफामा ठूलो संकुचन आउँछ। ‘खराब कर्जा बढ्ने बित्तिकै बैंकहरूले प्रोभिजन गर्नुपर्छ,’ गोल्छाले भने, ‘एकातिर लगानीयोग्य रकम कम हुन्छ। त्यसो हुने बित्तिकै सेयर बजारमा ठूलो असर पर्ने छ।’
नेपालको धितोको गुणस्तर एकदमै कमजोर छ। धितोको मूल्य बढ्दै गएको र ऋण पनि त्यही आकारमा वृद्धि हुँदै गएको देखिन्छ। नेपालमा कहिल्यै पनि ऋण फिर्ता भएन, जहिले पनि ऋणलाई पुनर्संरचना गर्दै लगिएको छ।
‘बैंकहरू पनि धितो देखेर दंग परेका छन्,’ गोल्छाले भने, ‘भोलि ऋणी अप्ठयारोमा परे यही धितो बेचेर आफ्नो ऋण असुलउपर गरौंला भन्नेमा पुगे।’
धितो उति छ, धितोको मूल्यमात्रै वृद्धि भएको हो। वृद्धि भएको मूल्य देखाएर ऋणीले पनि मनग्ये ऋण लिएका छन्।
खराब कर्जा ८ प्रतिशत पुग्ने बित्तिकै वित्तीय पहुँच बैंकरको मुठ्ठीमा रहने खतरा पनि छ।
कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अर्थात गर्न नसक्ने अवस्था पनि आउँछ। अहिले चाहेर पनि ऋणी ऋण चुक्ता गर्न सक्ने अवस्थामा नरहेको बैंकिङ विज्ञ अनलराज भट्टराई बताउँछन्।
ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जाअन्तर्गत राख्छ। सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ। कुनै पनि बैंकमा पाँच प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ।
सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर बैंकले नाफा आर्जन गर्ने गर्दछ। तै पनि लगानी गरेको पैसा नै नउठ्दा बैंकको नाफामा गिरावट आउँदा बैंकले नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ।
खराब कर्जा बढेर समस्याग्रस्त अवस्थामा पुगेको बैंकलाई सर्वसाधारणको विश्वास पनि गुम्न सक्ने भट्टराईको तर्क छ।
‘खराब कर्जाले बैंकको छवि नै गिराउने अर्थात बैंकप्रति सर्वसाधारणको भरोसा नै गुम्न पुग्छ,’ उनले भने।
कतिपय बैंकले व्यक्तिगत सम्बन्ध अर्थात चिनेजानेका भरमा कर्जा स्वीकृत गराउने गरेका कारण पनि बैंकले घाटा बेहोर्ने स्थिति आइपुग्छ। यसैगरी बैंकहरूले जथाभावीरूपमा कर्जा लगानी गर्दा यस्तो समस्या आउँछ। साथै, अनुत्पादनमूलक क्षेत्रमा गरिएको लगानी डुब्ने खतरा बढी हुन्छ।
लगानी गर्न लागेको क्षेत्रको अध्ययन नगर्दा पनि यस्तो समस्या निम्तिन्छ। यस्ता क्रियाकलापका लागि बैंकप्रतिको विश्वास घट्दै जाने हुन्छ।
उसै पनि बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल निरन्तर घट्दो क्रममा छ। बैंकहरूको नाफा अर्बमा देखिए पनि एकाधबाहेक सबै वित्तीय संस्थाले १५ प्रतिशतभन्दा कम प्रतिफल दिइरहेका छन्।
यदि बैंकहरूको खराब कर्जा पाँच प्रतिशतमाथि भए बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकको कारबाही पनि भोग्नुपर्ने हुन्छ। केन्द्रीय बैंकले सुधारात्मक कारबाहीअन्तर्गत खराब कर्जा पाँच प्रतिशतभन्दा बढी भएका बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा रोक लगाउँछ भने शाखा खोल्न पनि बन्देज पार्छ।