काठमाडौं । नेपाल वायुसेवा निगमको सेफ्टी अडिट गर्न चिनियाँ टोली नेपाल आउने भने पनि अझै मिति तय भएको छैन् । निगमले चीनको गोन्जाओमा उडान गर्न गत असारमा अनुमति मागेको थियो ।
निगमले आवश्यक कागपत्र चीनको सिभिल एभिएसनलाई बुझाएपछि उसले युरोपियन युनियन (ईयु) को कालोसूचीको कारण देखाउदै सेफ्टी अडिट गरेर मात्र अनुमति दिने जवाफ दिएको थियो ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सेफ्टी अडिट गर्न पटकपटक चिनियाँ टोलीलाई नेपाल आउन अनुरोध गरिएको जानकारी दिए । ‘चीनले केही समय भित्रै अडिट गर्न आउने जवाफ दिएपनि हालसम्म मिति तय गरेको छैन् । हामी सेफ्टी अडिटका लागि तयारी छौं, तर चीनियाँ पक्षबाट ढिलाइ भइरहेको छ’, अध्यक्ष खरेलले क्यापिटल नेपालसँग भने ।
राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख २ गते र प्रधानमन्त्री केपी शर्मा ओली असार ३ गते चीन भ्रमणका बेला पनि निगमलाई उडान अनुमति दिन तयार रहेको जवाफ चिनियाँ पक्षले दिएको थियो । अहिले सेफ्टी अडिटको लागि बोलाउदा पनि चिनियाँ एभिएसन अथोरोटी नेपाल आउन तयार नभएको प्रति आशंका व्यक्त गर्न थालिएको छ ।
निगमलाई सेफ्टी अडिटमा अल्झाएर चिनियाँ पक्षकै ४९ प्रतिशत स्वामित्व रहेको हिमालय एयरलाइन्सलाई भने बेइजिङमा सिधा उडानका लागि अनुमति दिएको छ । हिमालयले आइतबारबाट काठमाडौं–बेइजिङ सिधा उडान गर्दैछ ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निगमलाई चीन उडानको लागि अनुमति नदिनु पर्ने कुनै कारणनै नरहेको बताउछन् । सेफ्टी अडिटमा ढिलाई भएको प्रति निगमसंग आवश्यक छलफल गर्ने उनले बताए ।
निगमले मन्त्रालयलाई बुझाएको प्रगति प्रवेदनमा अक्टोबर भित्रमा सेफ्टी अडिट गरिसक्ने छ । तर, चिनियाँ पक्षले मिति तय नगर्दा लामो समयदेखि निगम समस्यामा पर्दै आएको छ ।
पछिल्लो समय भारतपछि सबैभन्दा बढि पर्यटकहरु चीनबाट आउने गरेका छन् । सन् २०१८ मा चीनबाट १ लाख ५३ हजार ६३३ पर्यटक आएका थिए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल आउँदा बार्षिक ५ लाख पर्यटक पठाउने बताएका थिए । चीनबाट नेपालमा आउने हवाई भाडा महंगो भएको कारण धेरै पर्यटकहरु नआउने होटल एसोसियन अफ नेपाल(हान)का प्रथम उपाअध्यक्ष विनायक शाह बताउछन् । चीनबाट नेपाल आउने र जानेको भाडाले बैंककमा ३ रात ४ दिन बसेर फर्कन सक्ने सुविधा पाउने उनको भनाइ छ ।
यहाँ आउने एयरलाइन्सले चर्को भाडा लिने गरेकै कारण नेपालमा आउन चाहेर पनि त्यहाँका धेरै पर्यटकहरु अन्य देशमा जाने गरेको शाह बताउछन् । अहिले बेइजिङबाट नेपालको दुईतर्फी भाडा ५० हजार रुपैयाँ भन्दा माथि छ ।
साना जहाज मार्फत उडान गर्दा यात्रु थोरै हुने भएकोले पनि हवाई भाडा महंगो हुन सक्ने उनको अनुमान छ । त्यसको ठाउँमा निगमको ठूलो जहाजलाई उडाउन सके धेरै यात्रु ल्याउन सकिने र भाडा दर पनि सस्तो हुने शाहको भनाइ छ ।