वीरगन्ज। कपडा र फुटवेयर उत्पादनमा पायोनियर व्यावसायिक घराना प्रेस्टिज ग्रुपले नेपालबाट पहिलो पटक फ्लोरिङ कार्पेट निर्यात सुरु गरेको छ।
नेपालको कार्पेट बजारमा एकछत्र राज गरेको प्रेस्टिज कार्पेट अब भारतका विभिन्न सहरमा जान थालेको हो। विश्वस्तरीय मेसिनबाट उत्पादित कार्पेट भारतको राजधानी नयाँ दिल्ली, कस्मिर, बैंग्लोर र हैदरावादलगायतका मुख्य सहरमा पुग्न थालेको छ।
प्रेस्टिज ग्रुपका निर्देशक वीरेन्द्र शाहका अनुसार नेपालबाट मासिक रूपमा १५ देखि २० कन्टेनर कार्पेट भारत निकासी भइरहेको छ । ‘कुनै समय नेपालमा विभिन्न देशबाट कार्पेट आयात हुन्थ्यो,’ शाहले क्यापिटल नेपालसँग भने, ‘अहिले ८० प्रतिशत आयात प्रतिस्थापन मात्रै नभई निर्यात पनि सुरु भइसकेको छ। नेपालबाट टफटेड तथा निडलपञ्च कार्पेट निर्यात गर्ने हामी पहिलो उद्योग हो।’
कम्पनीले विभिन्न मोडलका कार्पेट निर्यात गरेको छ। नेपाली उत्पादनसँगै कम्पनीले मुलुकको पनि ब्रान्डिङ गरेको हो । शाहका अनुसार भारतीय बजारमा आफ्नो उत्पादन देखाउन बनाएको क्याटलकमा नेपालको नक्साभित्र भिजिट नेपाल लेखिएको छ ।
प्रेस्टिज ग्रुपले आफ्ना सामानको मात्रै नभई मुलुककै ब्रान्डिङ गर्ने प्रयत्न गरेको हो । आफ्नो उत्पादनसँगै मुलुकको प्रवद्र्धन गर्ने पहिलो नेपाली व्यावसायिक घराना हो।
प्रेस्टिज ग्रुपले ‘हाइट अफ’ लक्जरी लेखेर मुलुकको परिचय समेत झल्काएको छ। लोगोमा काठमाडौंको स्वयम्भू तथा वीरगञ्जको घण्टाघर राखिएको छ । त्यसका अलवा नेपाली पोशाकलाई समेत प्रवद्र्धन गरिएको हो।
उनका अनुसार कम्पनीले विगत तीन महिनादेखि कार्पेट निर्यात गरिरहेको छ। वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा १ अर्ब रुपैयाँको लगानीमा खुलेको उद्योगमा नयाँ प्रविधि थपिएसँगै त्यहाँको उत्पादन भारतीय भूमिका पुगेको हो ।
प्रेस्टिज ग्रुपले यसअघि नै डोरम्याट भारतमा निर्यात गरिरहेको थियो। गुणस्तरीय सामान उपलब्ध गराएर ख्याती कमाइसकेकाले कार्पेट निर्यातका लागि सहज भएको शाहको भनाइ छ।
नयाँ प्रविधिबाट गुणस्तर र लागतलाई प्रतिस्पर्धी बनाएको र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज बनेको उद्योगी शाहको भनाइ छ। कम्पनीले गुणस्तरमा कुनै सम्झौता गरेको छैन। ‘बजारमा प्रेस्टिजको कार्पेट अन्यभन्दा महँगो हुँदा पनि बिक्रीमा कुनै कमी छैन’ शाहले भने, ‘त्यसको मुल कारण भनेको गुणस्तर नै हो। भारतीहरुले पनि नेपाली कार्पेटको गुणस्तर देखेरै नेपालबाट महिनामा १५ देखि २० कन्टेनर मगाइरहेका छन्। यो संख्यालाई केही महिनामै बढाउँछाैं।’
नेपालबाट फ्लोरिङ कार्पेट, डोरम्याटलगायत सामान निर्यात भइरहेको छ । कम्पनीको मेसिन आधुनिक भएकाले ग्राहकले रोजेको डिजाइनमा टफ्टेड कार्पेट उत्पादन गरिरहेको छ । बजारको माग र आवश्यकताका आधारमा डिजाइन थप्दै लैजाने योजना राखिएको शाहले जानकारी दिए ।
नेपालको बजारमा अहिले वार्षिक ५ देखि ६ अर्ब रुपैयाँबराबरको कार्पेट खपत भइरहेको अनुमान छ । यसमध्ये ८० प्रतिशत स्वदेशी उत्पादन छ भने २० प्रतिशत मात्रै विदेशी कार्पेटको बजार छ । कम्पनीले कार्पेटको कच्चा पदार्थ टर्की, साउदीलगायतका देशबाट आयात गरिरहेको छ। प्रेस्टिज समूहले कार्पेटको आयात प्रतिस्थापनमात्र होइन, अहिले कार्पेट आयात भइरहेको युरोपेली देशमै आफ्नो उत्पादन निकासीको उद्देश्य राखेको छ ।
सुुरुमा निकट छिमेकी भारत निकासी भइरहेको छ। त्यसपछि पाकिस्तान हुँदै यूरोप र अमेरिकी बजारमा आफ्ना उत्पादन पुर्याउने लक्ष्य उद्योगले राखेको छ। उद्योगी शाहले विदेशी बजारमा प्रतिस्पर्धाका लागि सरकारबाट प्रोत्साहनको अपेक्षा गरेका छन् । सरकारले विभिन्न वस्तुमा निकासी अनुदान दिएको छ । आउने बजेटमार्फत कार्पेटलाई पनि निकासी अनुदान दिनुपर्ने उनको भनाइ छ ।
आधुनिक प्रविधिका आधारमा यो उद्योग नेपालमै पहिलो भएको दाबी शाहले गरे । प्रेस्टिज ग्रुप निम्बस दाना बनाउने पहिलो उद्योग हो । बैंक तथा बिमा कम्पनीमा पनि समूहको प्रभूत्व छ । नोबेल टेक्सटाइल्स प्रालि परवानीपुर, रारा चप्पल जीतपुर, प्रेस्टिज फुटवेयर प्रालि गण्डक बहुअरी र पिभिसी डोरमेट उद्योग छ।