काठमाडौं । अतिविशिष्ठ व्यक्तिहरुका (भीभीआइपी) विदेश भ्रमणको बेला नेपाल वायुसेवा निगमको जहाज चार्टर गर्ने क्रम बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणको क्रममा निगमको एयर बस ३२० (न्यारोबडी) जहाज चार्टर गरिएको छ ।
एक बर्षको अवधिमा मात्र ३ पटक जहाज चार्टर गरेर लगिएको निगमले जानकारी दिएको छ । यसअघि भीभीआईपी विदेश भ्रमणमा जादा निजी एयरलाइन्सको जहाज प्रयोग हुने गरेको थियो ।
निगमका कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त भएलगत्तै भीभीआइपीको विदेश भ्रमण निगमको जहाज प्रयोगका लागि लविङ गरेका थिए । त्यसको केही समय पछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला निगमको जहाज चार्टर गरेका थियो ।
२ बर्षअघि प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर लगेको भन्दै विरोध भएको थियो ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको विदेशमा हुने राजकीय भ्रणमा राष्ट्रिय ध्वजाबाहक जहाज प्रयोग हुनु भनेको राष्ट्रको लागि गौरबको विषय हो, निगमका अध्यक्ष खरेलले भने, अर्को तर्फ यसले निगमलाई आम्दानी पनि बढाएको छ ।’ उनले सरकारी कर्मचारीहरुलाई आन्तरिक र बाह्य यात्रामा निगमको जहाज प्रयोग गर्न समेत अनुरोध गरेका छन् ।
विषेश गरी राष्ट्रपति र प्रधानमन्त्रीको राजकीय भ्रमणमा जहाज चार्टर गरेर लैजाने गरिएको छ । यो प्रचलन विदेशमा पनि रहेको छ ।
विदेशमा भीभीआईपीले राजकीय भ्रमण राष्ट्रिय ध्वजाबाहक जहाज लिएर हिड्ने गरेका छन् । अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ ओटा जहाजहरु छन् ।