पर्वत , वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ ।
बन्द भएको स्टिम सेवा आइतबारदेखि शुरु भएको हो । सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि मङ्गलबारदेखि नियमितरूपमा सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जलयातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले जानकारी दिए ।
गत असार दोस्रो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाब बढेपछि दुर्घटना हुनसक्ने भएकाले साउन, भदौ र असोजमा सेवा बन्द गरेको सचिव रानाले बताए ।
उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म ७ किलोमिटरको दूरीमा १८ वर्षदेखि जलयातायात स्टिमर सेवा सञ्चालनमा छ ।
स्टिमर सेवाबाट दक्षिण पर्वतको विहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुने गरेका विहादीका अध्यक्ष कमल भुसालले जानकारी दिए । स्टिमरबाट दैनिक १ हजारभन्दा बढीले नदी ओहोरदोहोर गर्छन ।
स्टिमरमा १०० जना सवार गर्न मिल्ने १० वटा र १५ सवार गर्न मिल्ने माइक्रोस्टिमर दुई सञ्चालन भइरहेका छ। स्टिमर सेवा सञ्चालनपछि चार घण्टाको यात्रा आधा घण्टामा छोटिएको छ ।
स्टिर सेवा बन्द हुँदा साढे तीन महीनाभन्दा बढी त्यस क्षेत्रका बासिन्दा आधा घण्टाको बाटो चार घण्टासम्म पैदल हिँडेर स्याङ्जाको गल्याङ पुग्न बाध्य भएका थिए ।
पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शनका लागि आउने धार्मिक पर्यटक र स्टिमर चढ्नकै लागि आउने पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरिएको विहादी–६ शालिग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताए।
काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इञ्जिन जडान गरेर बनाइएका स्टिमर जलयातायातको साधन हो । रासस