काठमाडौं। ‘हरेक आन्दोलनले नेता जन्माउँछ’, यो भनाइलाई गगनकुमार थापाको उदयले पुष्टि गर्छ। २०६२/६३ को गणतान्त्रिक आन्दोलनले एकैपटक चर्चामा आएका पात्र हुन् गगन। विद्यार्थी राजनीतिमै रहेका गगन जनआन्दोलनसँगै एकाएक नेपाली कांग्रेसको मूलराजनीतिमा समाहित हुँदै मुलुककै राजनीतिमा प्रभाव जमाउने स्थितिमा आफूलाई राख्न सफल भए। २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिमा होमिएका गगन २०७८ मंसिरमा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएर कांग्रेसको सम्भावित सभापति र मुलुकको प्रधानमन्त्री हुने व्यक्तिका रूपमा जबर्जस्त उदाए। कांग्रेसमा संस्थापन पक्षको दबदबा रहेकै बेला सीमित कोटरीबाट घेरिएर रहने प्रचलन तोड्दै नेपालको राजनीतिमा गगनको उदयलाई धेरैले सकारात्मक लिएका पनि छन्।
मंसिर ४ गतेको आमनिर्वाचनको पूर्वसन्ध्यामा ‘ड्राइभिङ सिट’ मा बसेर मुलुक परिवर्तनमा काम गर्ने अठोट रहेको र त्यसका लागि आफूलाई मत दिन मतदातासँग आग्रह गरिरहेका ४६ वर्षीय ठिटोबारे धेरैले चुनाव जित्ने रणनीतिका रूपमा अर्थ्याएका थिए। तर, निर्वाचन परिणाम प्राप्त भएपछि पनि उनी कांग्रेस संसदीय दलको निर्वाचन लड्ने र दलको नेता भएर मुलुक हाँक्ने दृढ अठोट प्रस्तुत गरिरहेकै छन्।
कांग्रेस केन्द्रीय सदस्य तथा सांसाद डा. शेखर कोइरालाले संसदीय दलको नेतामा समर्थन गरेपछि संस्थापनइतरबाट गगन एकमात्र प्रतिस्पर्धी बनेका छन्।
गगनको प्रस्तावकमा डा. कोइराला र समर्थकमा पार्टी उपसभापतिसमेत रहेका धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा छन्।
कांग्रेस संसदीय दलको चुनाव बुधबार (पुस ६ गते) सिंहदरबारमा हुँदैछ।
कांग्रेस संसदीय दलमा अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरूको आकांक्षा किञ्चित पनि घटेको छैन। तर, गगनलाई कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै दरिलो साथ दिएका छन्। यद्यपि, अहिलेसम्मको निर्वाचन प्रक्रिया र परिणाम हेर्दा कांग्रेसमा देउवाकै बोलवाला छ भने संस्थापनइतर समूहमा पनि एकरूपता नरहेको कोइरालाको उम्मेदवारी आशयले अभिव्यक्त गर्छ।
यस्तो स्थितिमा गगन यसैपालि संसदीय दलको नेता बन्छन्, बन्दैनन्, त्यो केही समयपछि खुलस्त हुनेछ। तर, राजनीतिलाई ‘अनन्त सम्भावनाको खेल’ का रूपमा लिइने भएकाले यही संसदीय कार्यकालकै कुनै पनि बेला गगन संसदीय दलको नेता र प्रधानमन्त्री नहोलान् भन्न सकिन्न। त्यसो त धेरैले गगन आफू अर्थमन्त्री हुनका लागि संसदीय दलको नेताको रोइलो गरेको भन्नेहरूको पनि कमी छैन। तर, उनी स्वयं भने क्षमता र दक्षतासहित कुनै पनि अधिकार लडेर लिनुपर्छ भन्ने मान्यतामा रहेकाले संसदीय दलको विकल्पमा आउने अवसरलाई लिन्छन् भन्ने देखिँदैन।
आन्दोलनबाट शिखरमा पुगेका सबै नेता शिखरमै रहिरहन्छन् भन्ने देखिँदैन र त्यो सजिलो पनि छैन। आक्रमक भाषणले चर्चित बनेका नेता लगातार अपेक्षाकृत ‘कन्टेन्ट’ दिन नसक्दा र सानातिना प्रलोभनमा फस्दा असान्दर्भिक हुन पुगेका थुप्रै उदाहरण छन्। राजनीतिको सिँढीमा माथि उक्लिन प्रलोभनमा नफसी अध्ययन र अनुभवलाई आत्मसात गर्दै अघि बढ्ने र जनअपेक्षा पूरा गर्न आफूलाई सधैं ‘अपग्रेड’ गरिरहने क्षमताका कारण गगन सम्भावनाका नजिक छन् भन्दा अत्युक्ति हुँदैन।
नेता भइसके पनि धेरै विषयमा चासो नराख्ने प्रवृत्तिमा पूर्णविराम लाउँदै गगनले अध्ययन र विपक्षीका कुरा बढी महत्व दिएर हेर्नेर सुन्ने स्वभाव बढाएका छन्। मुलुकको नेतृत्व गर्ने व्यक्ति अर्थतन्त्रका यावत पक्षबारे जानकार हुनुपर्छ भनेर गगन एक समय अर्थतन्त्रका प्राविधिक ज्ञानका लागि विश्वविद्यालयका प्राध्यापकबाट कक्षा नै लिएर निखारिँदै आएका छन्। जसका कारण पछिलो समय थापा अझ बढी तार्किक देखिएका छन् भने विपक्षीका केन्द्रविन्दुमा पनि पर्न सफल भएका छन्।
त्यतिमात्रै होइन, व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समिति सभापति भएर काम गर्दा उनले मुलुकको कृषि र ऊर्जा क्षेत्रको स्थितिबारे राम्रो अध्ययन गरेका छन्। कृषि तथा जलस्रोत समितिकै सिफारिसका आधारमा सरकारले २० वर्षे कृषि विकास रणनीति (२०७२–२०९२) कार्यान्वयनमा ल्याएको थियो। औपचारिकरूपमा अर्थशास्त्रका विद्यार्थी नरहे पनि अर्थतन्त्र/विकासका विषयमा गगनको बुझाइ अर्थशास्त्रीभन्दा कम लाग्दैन। यसबाट पनि भन्न सकिन्छ कि गगनले आफूलाई देशको नेतृत्व गर्ने गरी तयार गर्दै लगेका छन्।
समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर उनी त्रिचन्द्र क्यापसमा स्ववियु सभापतिमात्रै भएनन्, नेपाल विद्यार्थी संघको महामन्त्री पनि भए। २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकार रहेका बेला पहिलोपटक हिरासत बसेका गगन २०५९ मा सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वकालमा पनि गुरुराज घिमिरे र पुरुषोत्तम पौडेलसँगै राजकाज मुद्धा झेल्न पुगे। त्यसपछि गणातान्त्रिक आन्दोलनका पक्षमा उभिएका गगन विद्यार्थी राजनीतिका आफ्ना अग्रजलाई पछि पार्दै संसदीय राजनीतिमा एकछत्र राज गरिरहेका छन्।
बेलाबेला विरोधी दलमात्र होइन, कांग्रेसभित्रै पनि गगनमाथि ‘भाषण गरेर जनमत आफूतिर तान्ने तर, काममा सिन्को भाँच्ने क्षमता नभएको नेता’ भनेर आलोचना पनि हुने गर्छ। तर, २०७४ मा नौ महिनाको छोटो अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हालेपछि भाषणबाज पगरी दिनेहरू नै अल्मलिएका छन्।
स्वास्थ्यमन्त्रीका रूपमा उनले स्वास्थ्य क्षेत्रमा ल्याएका नीतिगत, संरचनागत, प्रक्रियागत र व्यवस्थापकीय सुधार गरेर एकप्रकारको तरङ्ग नै ल्याइदिएका थिए। उनले कांग्रेसको वैचारिक फाँटमा मात्रै नभएर समग्ररूपमा आफ्ना समकालीन नेताभन्दा धेरै अघि रहेको सन्देश प्रवाहित गर्दै आइरहेका छन्। राजनीति व्यवस्थापनमा कुशल देखिएका नेताहरू पनि सरकारमा गएपछि सेवा प्रवाहमा फितलो साबित भइरहेका बेला गगनले आफूलाई अलग पहिचान दिलाएका छन्। त्यसैले त राजनीतिक नेतृत्वको कार्यशैलीका कारण राजनीतिप्रति वितृष्णा जगाइरहेका बेला गगन ‘आसाको दियो’ बनेर देखापरेका छन्।
राजनीतिमा सफल व्यक्तिबाट पनि सत्ताको चास्नीमा फसेपछि प्रभावकारी ‘डेलिभरी’ नभएको आमजनगुनासो सम्बोधन गर्न गगनले दुई वर्षदेखि ‘प्रोजेक्ट गभर्मेन्ट’ अवधारणा बनाएर परियोजना चलाइरहेका छन्। जसमा विविध क्षेत्रका ६० विज्ञले स्वयंसेवीका रूपमा योगदान दिइरहेका छन्। विज्ञमार्फत तयार हुने दस्तावेजलाई पार्टीको नेतृत्वले सरकारमा उपयोग गर्न चाहे उपलब्ध गराउने, नचाहे आफू नेतृत्वको सरकारमा मार्गनिर्देशनका रूपमा प्रयोग गर्ने उनको कथन छ।
चुनाव जित्नमात्र होइन जितेपछि पनि जनताको आकांक्षा पूरा गर्न के–के काम कसरी गर्न सकिन्छ भन्ने स्पष्ट कार्ययोजना/खाका बोकेको पार्टी बनाउने योजनामा अघि बढेका गगन युवामा पठन संस्कृति विकास होस् भन्ने पक्षमा पनि उत्तिकै क्रियाशील छन्। युवाले नयाँ–नयाँ विषयमा अध्ययन गर्न पाउन् भनेर उनले आफ्नै सम्पादनमा (विचार विशेष त्रैमासिक) जर्नल पनि प्रकाशित गर्दै आएका छन्। जसमा मुलुकमा चिनिएका बौद्धिकहरूको लेखरचना छापिन्छन्।
पार्टीको तेह्रौं महाधिवेशनमा गगनले मुलुकको परिवर्तित सन्दर्भअनुसार कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श र सिद्धान्त परिष्कार र पुनर्व्याख्या गर्ने प्रस्ताव पेस गरेका थिए, तर त्यसमा खासै बहस भएन। चौधौं महाधिवेशन आइपुग्दा उनले पार्टी पुनर्जागरण र रूपान्तरणको प्रस्तावमा ‘समुन्नत नेपाल’ को नयाँ अवधारणा लिएर आए। उनले समुन्नत नेपाललाई एउटा निश्चित गन्तव्य नभएर राष्ट्र निर्माणको एक निरन्तर प्रयत्न अर्थात आजभन्दा भोलि र भोलिभन्दा पर्सी झन् उन्नत बनाउँदै लैजाने लगातारको कोसिस भनेका छन्।
उदार लोकतन्त्र र पुँजीवादी अर्थव्यवस्थाको विवेकपूर्ण सम्मिश्रणबाट बनेको लोककल्याणकारी राज्यजस्तो लाग्ने उनको नयाँ अवधारणाले सैद्धान्तिक विमर्शबाट क्रमशः विमुख हुँदै गएको मुलुकको राजनीतिक वृत्त तरंगित गरेको छ। सबै कांग्रेसी नेता झैं उनी पनि बिपी कोइरालाको सपनाबाट प्रभावित छन्, तर धेरै किसिमका राजनीतिक, आर्थिक र सामाजिक अनुभवले समृद्ध आजको युगमा बिपीका विचारमा पनि समयसापेक्ष परिमार्जन हुँदै जानुपर्छ, आधुनिक नेपालका आकांक्षा सम्बोधन गर्न सक्ने किसिमका हुनुपर्छ भन्नेमा उनी प्रष्ट छन्।
२०५८ सालमा राजा ज्ञानेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि सडकमा जुझारु युवाको परिचय बनाएका गगनको व्यक्तित्वको रूपान्तरण हुँदै अहिले मुलुक हाँक्ने ‘ड्राइभिङ सिट’ कसरी पर्गेल्ने भनेर डटिरहेका छन्। २०५२ भदौमा पहिलोपटक ४९ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको छैठौंपटक प्रधानमन्त्री हुने सपना तोड्न लालायित गगनको सक्रियताको परिणाम राजनीतिप्रति युवा जोश बढाएको छ। तथापि, संसदीय दलमा कांग्रेसका सांसदहरूले उनको मूल्यांकन कसरी गरिरहेका छन्, त्यसको परिणाम भने केही दिनमा देखिने छ।
गणतन्त्र स्थापनपछि पहिलो संविधानसभा निर्वाचनपछि २०६४ बाट निरन्तर सांसदका रूपमा चर्को खबरदारी र निर्णायक मोडमा बलियो गरी जिम्मेवारी निभाउँदै स्वच्छ छवि कायम गर्न सफल गगन पार्टी र राज्यको प्रमुख मुकाम नजिक पुगेका छन्।
यसै सेरोफेरोमा क्यापिटल बिजनेस म्यागजिनले अर्थतन्त्रका विविध पक्ष र कांग्रेस घोषणापत्र कार्यान्वयनबारे गगनसँग गरेको लामो कुराकानी केही बेरमा प्रकाशन हुनेछ।