काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ८७ ओटा उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ ।
भीभीआईपी मुभमेन्टका लागि आज शनिबार र आईतबार विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जनाएका छन् ।
प्रवक्ता तिवारीका अनुसार, शनिबार अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्म सूचना जारी गरिएको छ । शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुनेमा नेपाल एयरलाइन्स, चाइना इस्र्टन, एयर अरेविया, एयर इण्डिया, चाइना साउर्दन, इण्डिगोलगायत रहेका छन् ।
विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने उनले बताए । चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडान रोकिने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तिवारीका अनुसार, आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।