काठमाडौं । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको प्रारम्भीक प्रतिवेदन तयार भएको छ । बुधबार पर्यटन राज्य मन्त्री धनबहादुर बुढालाई बुझाएको प्रारम्भीक प्रतिवेदनमा पाइलट निर्दोष देखीएको र ओभरलोडको कारण दुर्घटना भएको निश्कर्ष निकालेको छ ।
गते फागुन १५ ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटना हुदा पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको ज्यान गएको थियो । दुर्घटनापछि पर्यटन मन्त्रालयले छानविन समिति बनाएको थियो ।
छानविन समितिका एक अधिकारीका अनुसार मौसम खरावी भएको बेला जहाज उडाएपनि क्षमता भन्दा बढि यात्रु भएकै कारण दुर्घटना भएको हो । पाथिभाराबाट हिड्नु अघिनै हिमपात भएको र इन्धन घटेको कारण जहाजको लोडमा तलमाथि भएको कारण पाइलट थप समस्यामा परेको निश्कर्ष रहेको छ ।
समितिका अनुसार सातजना सवार उक्त हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेका थिए। अगाडि बस्ने ती ३ जना को थिए भन्ने बारे जानकारी नभए पनि, पछाडि चारजना थिए। सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ गरेका थिए। जुन उनीहरुले लागू गरेनन्।
तौल मिलाउन नसक्दा पाइलटलाई असहज अवस्था आएको र कठिन समयमा सही निर्णय लिनबाट चुकेको हुनसक्ने समितिको ठहर छ।
‘यताबाट जाँदा इन्धनको कारणले तौल सन्तुलित भए पनि पछि फर्कदा भने अगाडिको तौल बढी भयो, जसले अगाडितिर हेलिकप्टर हुत्तिने हुन्छ, यसले सेन्ट्रल अफ ग्राभेटी मिलाउन निकै कठिन भयो’ समिति सदस्यले भने।मौसमबाहेक पाइलटलाई उच्च पदस्त व्यक्तिहरुबाट कुनै दवाव रहेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री अधिकारी सहित नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।
मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले छानविन समितिले प्रारम्भीक प्रतिवेदन राज्य मन्त्रीलाई बुझाएको जानकारी दिदै विभिन्न निकायबाट सुझाव संकलन गरि ६० दिन भित्र पुर्ण प्रतिवेदन आउने बताए ।