काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रधान कार्यालय मन्ट्रियलमा नेपाली र अस्ट्रेलियन प्रतिनिधिले हवाइसेवाका लागि बाटो खुुलाउन सम्झौतामा हस्तारक्षर गरेका हुन् ।
सम्झौताअनुसार दुवै पक्षले जुनसुकै प्रकारका वायुयानबाट सातामा ७ ओटा उडान गर्न सक्ने छन् । नेपाली जहाजले अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबन र पर्थमा गरी ७ उडान गर्न पाउने छन् । अन्य विमानस्थलमा असीमित उडान गर्नसक्ने भएको छ ।
अस्ट्रेलियन पक्षले काठमाडौंमा ७ उडान गर्न पाउने छ । यस्तै पोखरा र गौतमबुद्धसहित अन्य विमानस्थलमा २८ ओटा उडान गर्न पाउने छ ।
दुवै पक्षका एयरलाइन्सले दक्षिण एशिया, दक्षिण पूर्व एशिया र मध्य पूर्वका कुनै २ बिन्दुहरु उपयोग गर्दै मध्यवर्ती बिन्दु भएर पाँचौ ट्राफिक अधिकार उपभोग गर्न पाउने छन् ।
नेपाली पक्षका एयरलाइन्सका हकमा अस्ट्रेलियाका गन्तव्य बिन्दुभन्दा पर वियोन्ड पोइन्टका रुपमा न्यूजिल्याण्डका २ ओटा बिन्दुमा पाँचौ ट्राफिक अधिकार प्रयोग गर्न पाउनेछ ।
अस्ट्रेलियन पक्षका एयरलाइन्सको हकमा नयाँ दिल्लीबाहेक नेपालका गन्तव्य बिन्दुभन्दा परका रुपमा अन्य २ बिन्दुमा पाँचौ ट्राफिक अधिकार प्रयोग गर्न पाउने सम्झौतामा उल्लेख छ ।
सम्झौतापत्रमा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आर्चाय र अस्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात शहरी एवम् क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जीम वल्फीले हस्ताक्षर गरेका छन् ।
अष्ट्रेलिया नेपालीहरुको गन्तव्य मुलुक हो । नेपाल वायुसेवा निगमले वाइडवडी खरिदका लागि ऋण माग्दा अष्ट्रेलियामा पनि उडान गर्ने व्यावसायिक योजना पेस गरेको थियो ।