काठमाडौं । आज शुक्रबार ४० औं विश्व पर्यटन दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । सरकारको तर्फबाट नेपाल पर्यटन बोर्ड, भ्रमण बर्ष २०२० को सचिवालयले पनि विषेश कार्यक्रमको आयोजना गरिरहेको छ । विभिन्न पर्यटकीय संघसंस्थाले पनि कार्यक्रमको आयोजना गरिरहेका छन ।
पर्यटन दिवसको अवसरमा क्यानाडामा रहेका पर्यटन मन्त्री योगेश भट्टराईले सुभकामना सन्देश पठाउदै पर्यटन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । विशिष्ट प्राकृतिक भुबनोट, संस्कृति तथा सम्पदाको विविधताको कारण नेपाललाई पर्यटन क्षेधत्रमा तुलनात्मक लाभ प्राप्त हुने बताएका छन ।
संसारमै प्रशंसा पाएको नेपाली सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्न प्रविधि तथा सृजनात्मक सोचको महत्तम उपयोग गरी विश्व पर्यटन बजारमा स्थापित आकर्षक गन्तव्यको छविलाई थप परिष्कृत गर्नु सरकारको जिम्मेवारी भित्र रहेको उनको भनाइ छ ।
विश्व पर्यटन दिवस सेप्टेम्वर २७ लाई भव्यताका साथ मनाउन समय सापेक्ष कार्यक्रम र जागरण अभियानहरू सञ्चालन गरी तीनै तहका सरकार, निजी क्षेत्र र सम्बद्ध समुदायका बीचमा सहकार्य र अन्तर्निर्भरता रहेको पाउँदा खुशी महशुस भएको बताएका उनले उल्लेख गरेका छन् ।
रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दीगो र उल्लेखनीय स्रोतको रूपमा समग्र पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा सरकार प्रतिवद्ध रहेको उल्लेख छ ।
हरेक वर्ष कम्तीमा वार्षिक २० लाख विदेशी पर्यटक नेपाल भित्राउने मूल लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० अभियान अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक प्रवर्धन कार्यक्रमका साथै देशभित्र सबै क्षेत्रको सहकार्यमा पर्यटक मैत्री वातावरणलाई थप प्रोत्साहन हुने कार्यक्रमहरू सञ्चालन गरिएको उनको भनाइ छ ।
नेपालमा पर्यटकीय गतिबिधि, उपज एवं सेवा प्रवाह कार्यमा साझेदारीका संयन्त्रलाई चुस्त, लचिलो र व्यापक बनाउन आवश्यक रहेको छ,पर्यटन मन्त्री भट्टराइले भने ।
पर्यटन तथा पर्वतारोहण अध्ययनक प्रतिष्ठान सञ्चालन, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण एवं स्तरोन्नती, क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माण, राष्ट्रिय ध्वजाबाहकको रूपान्तरण गर्दै पहुँच र क्षमता विस्तार र समग्रमा पर्यटकको नेपाल बसाईलाई सुखद बनाउन आवश्यक पर्ने पूर्वाधार, सुरक्षा र आतिथ्यता सम्बन्धी कार्यक्रमहरू प्राथमिकताका साथ सञ्चालन गरिने उनले बताए ।