काठमाडौं । दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टे ग्रुपअन्तर्गतको फास्टफुड रेस्टुरेन्ट ‘लोट्टेरिया’ नेपालमा सञ्चालन गर्नका लागि लोट्टे जीआरएस र हिमालय एनकेबीच फ्रेन्चाइज सम्झौता भएको छ ।
मङ्गलबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको उपस्थितिमा दुवै कम्पनीका प्रमुखबीच व्यावसायिक सम्झौता भएको हो ।
सम्झौताका लागि दक्षिण कोरियाबाट लोट्टेका ग्लोबल सीईओ नाम इक उ र ग्लोबल बिजनेस टिम प्रमुख किम कि छल काठमाडौं आएका छन् ।
४० वर्षदेखि सञ्चालित लोट्टेरियाले हाल दक्षिण कोरियासहित भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मङ्गोलिया र लाओस लगायतका देशहरुमा १ हजार ६ सयभन्दा बढी फ्रेन्चाइज रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ ।
रेस्टुरेन्ट फ्रेन्चाइज बिजनेसमा ग्लोबल लिडरको दिशामा अगाडि बढिरहेको लोट्टेरिया चिकेन र बर्गरका लागि विश्वप्रख्यात छ । लोट्टेरियाको नेपाल आगमनले भिजिट नेपाल २०२० को प्रवद्र्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आकर्षण गर्ने दाबी हिमालय एनकेका अध्यक्ष विनोद कुँवरले गरेका छन् ।
विश्वव्यापीकरणको प्रभावसँगै नयाँ खालका खानपान र संस्कृति नेपालमा समेत विकास हुँदै गएकाले यस क्षेत्रमा सहजै व्यावसायिक सफलता हासिल गर्नेमा आफू विश्वस्त रहेको हिमालय एनकेका वैदेशिक लगानी साझेदार लि चङ सङले बताए ।