काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार जमानीमा बसेर किनेका दुई ओटा वाइडबडीको किस्ता तिर्ने पुनर्तालिका बनाउन लागिएको जानकारी दिएका छन् । मङ्गलबार सङ्घीय संसदमा बोल्दै अर्थमन्त्री खतिवडाले वाइडबडी जहाजको किस्ता तिर्ने तालिका केही हेरफेर गर्न लागिएको बताए ।
वाइडबडी र न्यारोबडी जहाज खरिदका लागि ऋण दिएको कर्मचारी सञ्चय कोषले केही साताअघि मात्र निगमसँग व्यावसायिक योजना (बिजनेस प्लान) माग गर्दै पत्र पठाएको थियो । कोषलाई बुझाइएको बिजनेस प्लानअनुसार वाइडबडी जहाज सञ्चालनमा नआएको र किस्ता रकम आउन ढिला गरेको भन्दै उसले पत्र पठाएको थियो ।
निगमले सञ्चय कोष र नागरिक लगानी कोषको गरी ३ अर्ब रुपैयाँ किस्ता तिर्न सकेको छैन । सञ्चय कोषको १ अर्ब ९० करोड र नागरिक लगानी कोषको १ अर्ब १५ करोड रुपैयाँ किस्ता तिर्न बाँकी छ । एक वर्षअघि २२ अर्ब रुपैयाँ लगानीमा दुइटा वाइडबडी जहाज ल्याएको निगमले हालसम्म नयाँ गन्तव्यमा उडान गर्न सकेको छैन ।
निगमले पुँजी बढाउन भन्दै सरकारसँग २० अर्ब रुपैयाँ माग गरिरहेका बेला अर्थमन्त्री खतिवडाले किस्ता तिर्न सहज बनाउन लागिरहेको सांसदहरुलाई जवाफ दिएका हुन् । उनले निगमको पुँजी अत्यन्त कम भएको भन्दै बढाउनका लागि सरकार तयार रहेको बताए । रणनीतिक साझेदार भित्र्याउने आवश्यक तयारी भइरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
नेकपाको नयाँ सरकार बनेलगत्तै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पनि निगममा रणनीतिक साझेदार भित्र्याउने काम अन्तिम चरणमा पुगेको बताउँदै आएका थिए । तर, हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
अर्थमन्त्री खतिवडाले वाइडबडी जहाजलाई लामो र राम्रो गन्तव्यमा उडाउनका लागि आवश्यक पहल भइरहेको जानकारी दिए । अबको केही महिनाभित्रै जापान र चीनमा उडान गर्ने उनको भनाइ छ । साथै नयाँ गन्तव्यमा जानका लागि हवाई सम्झौताका काम पनि सरकारले अगाडि बढाउँदै गएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ख्यातिप्राप्त कम्पनीहरुलाई नेपालमा ल्याउने सरकारको तयारी छ । विभिन्न जिल्लामा बन्न लागेका विमानस्थल व्यावसायिक÷प्राविधिक हिसाबले अध्ययन गरेर निर्माण गर्ने र स्तरोन्नति गर्न अर्थ मन्त्रालयले बजेट दिने मन्त्री खतिवडाको भनाइ छ ।