मंसिर १ गते १० औं राष्ट्रिय कर दिवस २०७८ का दिन आर्थिक वर्ष २०७६÷७७ मा बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी कर तिरेको भन्दै नबिल बैंकलाई सरकारले सम्मान ग¥यो । बढी कर तिरेको भनेर नबिल सम्मानित भएको यो छैटौं पटक थियो ।
गत वर्षको नाफाबाट चालू वर्षभन्दा बढी लाभांश दिने वाणिज्य बैंक समूहमा नबिल पहिलो सूचीमा कायमै छ । ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद गरी ३८ प्रतिशत लाभांश दिएको नबिलले गत वर्ष पनि ३३.५ प्रतिशत बोनससहित ३५.२६ प्रतिशत लाभांश दिएको थियो । बैंक स्थापना भएको ६ वर्षपछि १९९० मा २० प्रतिशत नगद लाभांश दिएर सेयरधनीलाई प्रतिफलको अनुभूति गराएको नबिलले त्यसपछिका वर्षमा लगानीकर्तालाई निराश बनाएको छैन ।
नबिलले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्रतिकित्ता ४३ रुपैयाँमा खरिद गर्ने गरी पुस २९ गते प्रारम्भिक सम्झौता गरेको छ । दोस्रो त्रैमासका आधारमा नबिलले एनबी प्राप्त गरेपछि बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी साढे २२ अर्ब, निक्षेप ३ खर्ब १४ अर्ब र ऋण ३ खर्ब नाघ्ने छ ।
निजी क्षेत्रको पहिलो र संयुक्त लगानीको बैंकका रूपमा परिचित नबिल बैंकले वर्ष गुजार्दै जाँदा नयाँ–नयाँ रेकर्डहरू राख्दै जान थालेको छ । संयुक्त लगानीका २ वटा बैंक पहिलो पटक एकीकृत भएर नबिल संयुक्त लगानीको बैंक खरिद गरेको इतिहास रच्न लालायित छ । एनबी बैंकलाई खरिद गर्न केन्द्रीय बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको छ । २०७८ असार २७ मा नबिलले युनाइटेड फाइनान्सलाई आफूमा गाभिसकेको छ ।
यसअघि नबिलमा आयरल्यान्डको एनबी इन्टरनेसनलको ४८.६८ प्रतिशत सेयर स्वामित्वको अतिरिक्त भारतको मुथुत फाइनान्सको ०.५५ प्रतिशत हिस्सा छ ।
फेरिँदै पहिचान
विगतमा नबिल भनेको ठूला–ठूला ग्राहकहरूको बैंकका रूपमा परिचित थियो । निक्षेपकर्ता होउन वा ऋणीहरू दुवै ठूला वर्गका थिए । तर, पछिल्लो समय नबिल सबै नेपालीको बैंक बनाउनेतिर केन्द्रित भएको छ । साढे ३ वर्षअघि ६० वटा हाराहारीमा शाखा रहेको नबिलका १ सय ३० शाखा कटिसकेको छ । शाखा खोलेर मात्र वित्तीय सेवा विस्तार नहुने निष्कर्षमा पुगेको नबिलले सूचना प्रविधिको भरपुर प्रयोग गर्ने योजनामा छ ।
‘नबिलबाट जे–जस्ता सेवा दिइन्छ ती सबै डिजिटल्ली प्रदान गर्ने प्रयास भइरहेको छ’, सीईओ शाहले भने, ‘त्यसका लागि आन्तरिक कामहरू तीव्र रूपमा भइरहेको छ ।’ ३७ वर्षअघि नेपालमा पहिलो कम्प्युटराइज्ड बैंकका रूपमा खुलेको नबिल पहिलो डिजिटल बैंकका रूपमा पहिचान बनाउन लागि परेको छ ।
सेयर मूल्यका हिसावले वाणिज्य बैंक समूहमा नबिल बैंक नै अग्रपंक्तिमा छ । २०६९ फागुन २४ गते बिहीबार नेप्सेमा स्ट्यान्डर्ड चार्टर्डको सेयर मूल्यलाई पछि पार्दै नबिल अगाडि आएको हो । यद्यपि नबिलले जितेपछिका सुरुवाती केही समय दुवै बैंकबीच मूल्य उचाइमा प्रतिस्पर्धा थियो । तर, पछिल्ला केही वर्षदेखि नबिलले सबै वाणिज्य बैंकलाई पछि पार्दै उच्च मूल्यमा नेप्सेमा कारोबार हुँदै आएको छ ।
‘कोही व्यक्तिले नबिलको कतिवटा शाखा छ भनेर सोध्दाखेरी म हाम्रो बैंकको करोडौं शाखा छन् भनेर भन्न चाहन्छु’ सीईओ शाहले भने, ‘हरेक नेपालीको मोबाइल फोनमा अब नबिल बैंक बस्नेवाला छ अर्थात् हरेक नेपालीको खल्तीमा नबिलको शाखा रहनेछ ।’
पोर्टल सार्वजनिक गरिसकेको नबिलका धेरै सेवाहरू अहिले पनि मोबाइलबाटै लिन सकिन्छ । बैंक ठाउँ खोज्दै जाने होइन, सेवा प्रदान गर्ने हो भन्ने मूलमन्त्र बनाएर अघि बढेको नबिल करोडौं नेपालीको खल्तीमा प्रवेश गर्न चाहिरहेको छ ।
अहिले मोबाइल भनेको सबथोक हो । मोबाइलमा नभएको केही कुरा छैन । सीईओ शाश भन्छन्, ‘अबदेखि नबिल पनि सबैको मोबाइलमा हुनेवाला छ किनभने अधिकांश नेपालीको हातमा स्मार्टफोन छ । जसमा हाम्रो एप हालेर बैंकिङ गर्न सक्छांै ।’ विगत दुई वर्षमा शाखा विस्तारलाई जोड दिएको सम्झिँदै शाहले भने, ‘बैंकको उद्देश्यमा हामी सफल भइरहेका । अब शाखा बढाएर १ सय ५० वटा पु¥याउने होइन, करोडौं नेपालीको खल्तीमा हामी हुन चाहन्छौं ।’
नबिल नगद मेसिन (एनसीएम)को सुरुवात, भर्चुअल आइकार्ड जारी, नबिल डिजीबैंक पोर्टल सार्वजनिक, अनलाइनमार्फत खाता खोल्न भिडियो ग्राहक पहिचान, कोर बैंकिङ सिस्टम फिनाकल १०.२५ अद्यावधिक गर्ने काम नबिलले गरिसकेको छ ।
एक दशकदेखि सेयर बजारमा नेतृत्व गरेको नबिल
सेयर मूल्यका हिसावले वाणिज्य बैंक समूहमा नबिल बैंक नै अग्रपंक्तिमा छ । २०६९ फागुन २४ गते बिहीबार नेप्सेमा स्ट्यान्डर्ड चार्टर्डको सेयर मूल्यलाई पछि पार्दै नबिल अगाडि आएको हो । यद्यपि नबिलले जितेपछिका सुरुवाती केही समय दुवै बैंकबीच मूल्य उचाइमा प्रतिस्पर्धा थियो । तर, पछिल्ला केही वर्षदेखि नबिलले सबै वाणिज्य बैंकलाई पछि पार्दै उच्च मूल्यमा नेप्सेमा कारोबार हुँदै आएको छ ।
२०६९ फागुन २४ मा स्ट्यान्डर्ड चार्टर्डको प्रतिकित्ता १ हजार ९ सय ९ रुपैयाँ हुँदा नबिलको १ हजार ९ सय २५ रुपैयाँ पुगेको थियो । खासगरी आर्थिक वर्ष २०६९÷७० को दोस्रो त्रैमासमा नबिलले अघि वर्षको तुलनामा ६८.९३ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ११ करोड ६५ लाख रुपैयाँ पु¥याएपछि सेयर मूल्यमा उच्च वृद्धि भएको थियो । सो अवधिमा स्ट्यान्डर्ड चार्टर्डले भने झिनो ०.६७ प्रतिशतले नाफा वृद्धि गरी ५५ करोड ८८ लाख रुपैयाँ कमाएको थियो । त्यसपछि भने नबिलले सेयर बजारमा पछाडि फर्केर हेर्नु परेको छैन । चालू वर्षको दोस्रो त्रैमासमा पनि नबिलले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
दिगो बैंकिङमा अग्रसर
बैंकले संयुक्त राष्ट्र संघको दिगो विकासको एजेन्डासँग आफूलाई पनि समाहित गर्दै २०७८ असार १५ मा राष्ट्रिय धान दिवसको अवसर पारेर नबिल दिगो बैंकिङ सुरुवात गरेको छ । पर्यावरणीय, सामाजिक तथा सुशासनका मापदण्डहरू परम्परागत बैंकिङमा समायोजन गर्नु दिगो बैंकिङको उद्देश्य हो भने उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याएर त्यहाँ उद्यमीहरूको सिर्जना गरी दिगो विकासमा टेवा पुर्याउनु दिगो बैंकिङको लक्ष्य हो ।
दिगो बैंकिङ विभाग नै गठन गरेर अघि बढेको नबिलले पहिलो चरणमा नबिल दिगो बैंकिङअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरुवात गर्नुका साथै उद्यमशीलता विकास तथा वित्तीय साक्षरता लक्षित कार्यक्रहरू पनि अघि बढाएको छ । त्यसका लागि १२ गाउँपालिका, पोखरा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि साझेदारी गरेको नबिलले संयुक्त राष्ट्र संघीय पुँजी विकास कोष (यूएनसीडीइफ)बाट ६० हजार अमेरिकी डलर बराबरको वित्तीय सहयोग पनि प्राप्त गरेको छ ।
नबिलका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल वित्तीय क्षेत्र नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्य स्थापित गर्न लाग्नुपर्नेमा जोड दिन्छन् । ‘वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्ने गरी वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा दिगो बैंकिङले भूमिका खेल्छ’, अध्यक्ष पौड्यालले भने, ‘समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभाव ल्याउन सक्षम भएकोमा दिगो बैंकिङमार्फत समाज र समग्र अर्थ प्रणालीमा थप सहयोग गर्न नबिल तयार छ ।’ त्यस्तै, नबिलले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम पनि सुरु गरेको छ ।
३ करोडबाट साढे १८ अर्बको यात्रा
२०४१ वैशाख २९ गते ३ करोड रुपैयाँ पुँजी देखाएर कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको नबिल बैंक (साविक नेपाल अर्ब बैंक)ले २०४१ असार २९ (१९८४ जुलाई १२) मा केन्द्रीय बैंकबाट स्वीकृति लिएर ५० जना कर्मचारीसहित कारोबार थालेको थियो । गत पुसमा नबिलको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ छ भने गत असारसम्म १ हजार २ सय ७१ जना कर्मचारी क्रियाशील छन् । १ सय ३५ शाखा, १ सय ८९ एटीएम काउन्टर र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत वित्तीय सेवा दिइरहेको छ ।
पछिल्लो समयमा बैंकले अन्तर्राष्ट्रिय अवार्डहरू पनि हात पारेर अन्तर्राष्ट्रियस्तरमा नेपाली बैंकहरूको मजबुती अवस्थालाई चिनाउन नबिलले भूमिका खेलिरहेको छ । एसिया मनीबाट नेपालको ‘वेस्ट डोमेस्टिक बैंक’ तथा ‘वेस्ट डिजिटल बैंक’, युरोमनीबाट ‘युरोनोमी अवार्डस् फर एक्सिलेन्स–नेपाल्स वेस्ट बैंक २०२०’ एसियाली विकास बैंक– ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) अन्तर्गत ‘लिडिङ पार्टनर बैंक इन नेपाल फर २०२०’, ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२१ अन्तर्गत ‘एसएमई फाइनान्स अफ दि इअर–एसिया’ जस्ता अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेर नबिलले आफूलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै गएको छ ।
नबिलले सहायक कम्पनीका रूपमा मर्चेन्ट बैंकिङको काम गर्ने गरी नबिल इन्भेस्टमेन्ट बैंकिङ सञ्चालन गरेको छ । एसोसियट कम्पनीको रूपमा नाडेप लघुवित्त वित्तीय संस्था छ । नबिल इन्भेस्टमेन्टमा ५२ प्रतिशत स्वामित्व ग्रहण गरेको नबिलले नाडेपमा २५ प्रतिशत स्वामित्व लिएको छ । त्यति मात्रै होइन नबिलले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २२ वटाको कम्पनीको इक्विटीमा लगानी गरेको छ । त्यस्तै नेप्सेमा सूचीकृत नभएका कम्पनी र सामूहिक लगानी कोषमा पनि नबिलको लगानी छ ।
दुई दशकपछि नेपाली बैंकरको नेतृत्व
बैंक खुलेको झन्डै दुई दशकपछि मात्रै नबिलले नेपाली बैंकरलाई व्यवस्थाकीय प्रमुख अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी दिएको थियो । २०६०–२०६५ मा अनिल केशरी शाहले नबिलको पहिलो नेपाली सीईओ बन्ने मौका पाए । बैंकर शोभनदेव पन्तले त्यसअघि नै कायममुकायमको भूमिका निर्वाह गरे पनि नबिल व्यवस्थापनले पूर्ण सीईओको जिम्मेवारी भने दिएन । शाह २०७४ माघदेखि नबिलमा दोस्रो पटक सीईओको जिम्मेवारीमा क्रियाशील छन् ।
नबिल उत्पादन मात्रै गर्दै अरूको उत्पादन पनि लिन्छ
नेपालमा बैंक खोल्न राष्ट्र बैंकको लाइसेन्स र नबिलका स्टाफ अनिवार्य जस्तै भएको कथन रहेको सीईओ शाह सुनाउँछन् । अधिकांश नेपालका बैंकमा नबिलियनहरू पुगेका छन् । तर, गएको दुई वर्षमा नबिलले पनि बाहिरबाट नयाँ स्टाफ (ट्यालेन्ट)हरू लिएको छ ।
‘हामीसँग ट्यालेन्टहरू छँदै थिए, त्यस बाहेक बाहिरका नयाँ सोचहरूलाई पनि भित्र्यायौं’, शाहले भने, नयाँ व्यक्तिले नयाँ शैली लिएर आउँदा नबिलियनसँगको समिश्रणले नबिलमा ‘मिराकल’ भइरहेको छ । ‘पछिल्लो समय नबिलियनहरूको मेहनतले नसोचेको प्रतिफल पाएको भन्दै शाहले नबिलमा एनबी गाभिएर एक भएपछि ‘वान प्लस वान इलेभेन’ बनाउने दाबी गर्छन् । दुई संस्था गाभिएपछि बैंकका मुलुकभर शाखा सञ्जाल हुनेछ ।
त्यस्तै मर्जरपछि शाखा सञ्जाल २ सय ४१ र एटीएम काउन्टर २ सय ९२ भन्दा बढी हुनेछ । पुँजी र शाखा सञ्जालले केहीपछि देखिएको नबिल एनबी खरिदको सिनर्जी असरले थप मजबुत र आफूलाई अब्बल बैंकका रूपमा कायम राख्न थप मद्दत मिल्नेछ ।
एनबीको गैरव्याज आम्दानी (नन इन्ट्रेस्ट इन्कम) अत्यधिक छ, जुन एनबीको स्ट्रेन्थ पनि हो । यता नबिलको व्याज आम्दानी (इन्ट्रेस्ट इन्कम) धेरै राम्रो छ । दुबैको आम्दानीको विविधता जोडिँदा त्यसले सिनर्जी पक्कै ल्याउँछ । ‘बलियोसँग कमजोर गाभिँदा समस्या हुनसक्छ तर, दुवै बलियो भएका कारण त्यसको सिनर्जी अझ बढी देखिँदा आगामी दिनमा नबिलको रफ्तार बढ्न सक्छ’ सीईओ शाहले भने ।
पछिल्लो समयमा बैंकले अन्तर्राष्ट्रिय अवार्डहरू पनि हात पारेर अन्तर्राष्ट्रियस्तरमा नेपाली बैंकहरूको मजबुती अवस्थालाई चिनाउन नबिलले भूमिका खेलिरहेको छ । एसिया मनीबाट नेपालको ‘वेस्ट डोमेस्टिक बैंक’ तथा ‘वेस्ट डिजिटल बैंक’, युरोमनीबाट ‘युरोनोमी अवार्डस् फर एक्सिलेन्स–नेपाल्स वेस्ट बैंक २०२०’ एसियाली विकास बैंक– ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) अन्तर्गत ‘लिडिङ पार्टनर बैंक इन नेपाल फर २०२०’, ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२१ अन्तर्गत ‘एसएमई फाइनान्स अफ दि इअर–एसिया’ जस्ता अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेर नबिलले आफूलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै गएको छ ।
टीएससीएफपीले नेपालको अग्रणी पार्टनर बैंकका रूपमा नबिललाई मान्यता दिएको छ । नबिलले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), यूकेएड सक्षम एक्सेस् टु फाइनान्सजस्ता संस्थासँग सहकार्य गर्दै वित्तीय क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै आइरहेको छ ।