काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ दिल्लीमा साताको २१ उडान गर्ने भएको छ । १४ उडान गर्दै आएको निगमले २१ घण्टा उडानको लागि स्लट प्राप्त गरिसकेको छ । सुरुमा निगमले साताको ११ उडान गर्दै आएको थियो ।
जेट एयरवेजले उडान बन्द गरेसँगै निगमले उडान समय बढाएको हो । निगमको वाइडबडी र न्यारोबडीले दिल्लीमा उडान गर्दै आएको छ । वाइडबडीले तत्कालै नयाँ गन्तव्य नपाएपनि पुरानै गन्तव्यमा उडान थप गर्दै आएको हो । साताको ३ उडान गर्दै आएको दुबैमा ४ ओटा उडान सुरु गर्न लागिएको निगमका सह प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
आन्तरिक उडानका पाइलटको तालिम सञ्चालन गर्न एयर ट्रान्स्पोर्ट अपरेटिङ (एओटी) एयर ट्रान्स्पोर्ट अपरेटिङ (एओटी) सम्बन्धी संस्थागत कार्य अघि बढाइै नेपालमा नै तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
वाई १२ ई उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी वाई १२ ई जहाज सूचारु गर्नेतर्फ निगम सक्रिय छ । निगमको ट्वीन अटर जहाज संचालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजना अनुरुप निगमले क्याप्टेन आङनुरी शेर्पालाई नियुक्त गरी तालिम दिइरहेको छ ।
साथै दुई वर्षदेखि रोकिएको को–पाइलटहरुको तालिम सूचारु गराई एक जनाको तालिम सम्पन्न गरी नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स इन्डोर्समेन्ट गर्ने कार्य भइरहेको विज्ञप्तीमा उल्लेख छ । बाँकी तीन जनाको तालिम समेत सञ्चालन भइरहेको छ र सो तालिम आगामी साउन मसान्तभित्र सम्पन्न गरिनेछ ।
न्यारो वडीमा लाइन क्लिरेन्स भएका जनशक्ति पर्याप्त मात्रामा तयार भएपछि न्यारो वडी जहाजबाट वाइडवडी जहाजमा आवश्यक तालिम गराई वाइडवडीमासमेत नेपाली जनशक्ति तयार गर्नेतर्फ निगमले कार्य गरिरहेको छ । सोही योजना अनुसार निगमले थप नेपाली जनशक्ति नियुक्त गर्न लोकसेवा आयोगमार्फत आवेदन माग गरी नियुक्ति सम्बन्धी आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
अन्तर्राष्ट्रिय कम्पनी बीसीटीले गरिरहेको विमान मर्मत सम्भार कार्य जुलाई महिनादेखि स्वयंम नेपाल वायुसेवा निगमका इन्जिनियरहरुबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । जसले गर्दा प्रतिमहिना ५० देखि ६० लाख रुपैयाँसम्म बचत हुनेछ ।