काठमाडौं । केही समयअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न दोडिएका डा. केशव श्रेष्ठ सञ्चालक रहेको कम्पनी पनि गैरकानुनी धन्दामा लागेको पाइएको छ ।
श्रेष्ठ सञ्चालक रहेको लक्ष्य होल्डिङ पनि गैरकानुनी धन्दामा लागेको पाएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए ।
गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनीले वित्तीय अपराध गरेको निश्कर्ष निकाल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई कारबाही गर्न लिखित पत्राचार गरेपछि बोर्डले लक्ष्यमाथि निगरानी बढाएको थियो ।
बोर्डका प्रवक्ता गिरीका अनुसार गोल्डम्यानकै जसरी लगानीकर्तासँग पैसा उठाउने प्रपञ्चमा लक्ष्य होल्डिङ लागेको देखिएको छ । यद्यपि, उक्त कम्पनीमाथि थप अनुसन्धान भइरहेको छ ।
लक्ष्य होल्डिङले पनि गैरकानुनी रुपमा सर्वसाधरणबाट ठूलो रकम उठाएको बोर्डको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
कमजोर नियामकको फाइदा उठाउँदै श्रेष्ठले सर्वसाधरणबाट अनाधिकृत रुपमा रकम उठाउने गरेका थिए । तर, बोर्डका अध्यक्ष भएपछि रमेश हमालले सेयर बजारलाई प्रभावित बनाउने, सोझा साझा लगानीकर्तालाई अनेकन बाहनामा फसाउनेमाथि अनुसन्धान अघि बढाएका थिए ।
अमुख कम्पनी खडा गर्ने, सर्वसाधरणलाई त्यसको सेयर बिकाउने र त्यहाँबाट मनग्य आम्दानी गर्ने रणनीति बनाएर श्रेष्ठ अघि बढेको बोर्डको अनुसन्धानबाट खुलेको छ । सूचीकृत नै नभएको कम्पनीको सेयर मूल्य ३ वर्षभित्र ५ हजार रुपैयाँ पुर्याउने भनेर लगानीकर्तासँग ठूलो रकम उठाएको देखिएको छ ।
श्रेष्ठ सेयर बजारका बारेमा प्रशिक्षण दिँदै हिड्ने व्यक्ति हुन् । उनको सेयर विश्लेषण हेरेर सेयर किन्ने लगानीकर्ता पनि धेरै छन् । त्यसैको फाइदा उठाउँदै उनले आफ्नो कम्पनीको सेयर प्रिमियम मूल्यमा बेच्न चलखेल गरेको बोर्डको निश्कर्ष छ ।
उनै श्रेष्ठ हुन् जो केही समय अघि नेप्सेको सीईओका लागि सर्टलिस्टमा समेत परेका थिए । त्यसका अलवा उनी विभिन्न जिल्ला जिल्लामा सेयर सम्बन्धी तालिमसमेत दिने र लगानीकर्ताबाट पैसा लिन गर्छन् ।
आफ्नो लोकप्रियतालाई श्रेष्ठले आर्थिकमा ढालेको बोर्डको निश्कर्ष छ । श्रेष्ठले धितोपत्र ऐनविपरीत काम गरेको बोर्डको आशंका छ । बोर्डका अनुसार लक्ष्यले आफ्नो साइटमै सेयर किन्न आह्रवान गरेको छ । यो कम्पनीले गोल्डम्यानकै शैलीमा वित्तीय अपराध गरिरहेको बोर्डको निश्कर्ष छ ।
बोर्डका अध्यक्ष हमालले पदभार ग्रहण गरेकै दिन बजारमा हुने नाजायज कार्य र विकृत्तिलाई हटाउने प्रतिवद्धता गरेका थिए । बोर्डको अध्यक्ष हुने पक्का भए पनि हमालले बजारलाई आफूअनुकूल हिडाउने र भ्रामक हल्ला फैल्याउनेलाई निगरानी (वाच) गरेका थिए । बोर्डको अध्यक्ष हुने वित्तिकै हमालले त्यस्ता व्यक्ति र उनीहरुको कम्पनीमाथि विशेष ध्यान केन्द्रित गरेका थिए ।