काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको आइएमई–पे क्यान इन्फोटेक २०२२ मेलाको मुख्य प्रायोजक आईएमई–पे रहेको छ ।
सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण हो । यसअघि कोभिड– १९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो ।
कोभिड– १९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।
ब्रान्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवं उत्पादनहरूको सहभागिता रहनेछ ।
फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यससम्बन्धी उत्पादनहरू रहने छन् । स्टार्टअप र इन्नोभेसन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्नेछन् । यसका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति क्यान महासंघले सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको छ ।
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवद्र्धन गर्ने आफ्नो योजनानुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेसनलाई बिशेष प्राथमिकतामा राखेको हो । सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो ।
आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, वाइफाइ तथा इन्टरनेटलगायत कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम सोल्युसन, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रिमा राख्नेछन् ।
त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।
प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सूचना प्रविधिमा चासो राख्नेहरूको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने थलो पनि हुने विश्वास लिइएको छ ।