काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापार छविलाई जोगाइराख्न र अल्पकालीन समस्या समाधान गर्न युसान्स एलसी कार्यान्वयनमा ल्याउनुपर्ने देखिएको छ ।
नेपालको अर्थतन्त्रलाई लिएर विश्वभर नकारात्मक सन्देश प्रवाह भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले युसान्स एलसी खुलाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गरेर विश्वभरका सञ्चारमाध्यमले समाचार बनाइरहेका छन् । खासगरी, सरकारले एलसी खोल्न रोकेपछि उनीहरुले थप चासोका साथ यस्ता समाचार बनाउन थालेपछि नेपालका व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मासहित नेपाल बैंकर्स एसोसिएसन र केन्द्रीय बैंकका अधिकारीलाई युसान्स एलसी खोल्ने व्यवस्था मिलाउन आग्रह गरिरहेका छन् ।
‘युसान्स एलसी खोल्न दिनेबित्तिकै सामान आयात सुचारु हुन्छ’, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘युसान्स एलसी खोल्न दिनेबित्तिकै अहिलेको अल्पकालीन समस्या समाधान हुने र आर्थिक गतिविधि चलायमान हुने अवस्था आउँछ ।’
व्यवसायीले ६ महिनासम्मको उधारो समय (क्रेडिट पिरियड) दिएर युसान्स एलसी खोल्ने वातावरण मिलाउन अर्थमन्त्री शर्मालाई आग्रह गरेका छन् । ‘केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ६ महिनापछि भुक्तानी गर्ने युसान्स एलसी खोल्न दिने हो भने अहिले भइरहेको विश्वास कायम राख्न सकिन्छ’, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल भन्छन्, ‘साइड एलसी नखोल्ने तर युसान्स एलसी खोलेर आर्थिक गतिविधि चलायनमा बनाइराख्न सकिन्छ । केन्द्रीय बैंकले ५÷६ महिनापछि भुक्तानी गर्ने गरी बैंकलाई भनिदिएर युसान्स एलसी खोल्नुपर्छ ।’
व्यापारीका अनुसार विदेशी कम्पनीले नेपालसँग व्यापार गर्नु छ । युसान्स एलसीबाट भए पनि व्यापार गर्छन् । युसान्स एलसी खुलाउने हो भने एकातिर नेपाली व्यवसायीलाई पनि धेरथोर फाइदा हुन्छ भने अर्कोतिर सरकारलाई राजस्व पनि आइरहन्छ र विदेशी मुद्रा तत्कालै भुक्तानी गर्नुपर्दैन । सामान पनि ल्याएर नेपालमा बेच्न पाइन्छ ।
केन्द्रीय बैंकलाई विदेशी मुद्रा कसरी जोगाउने भन्ने चिन्ता छ । तर, ६ महिनापछि यस्तो अवस्था नरहने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापा बताउँछन् । ‘युसान्स एलसी खोल्ने र विदेशी पार्टीलाई ६ महिनापछि भुक्तानी दिने व्यवस्था केन्द्रीय बैंकले मिलाउनुपर्ने उनको भनाइ छ ।
नेपालबाट अर्डर गएपछि उत्पादकले उत्पादन गर्न थाल्छ । उत्पादन भइसकेपछि पार्टीले नेपाली पार्टीलाई एलसी खोल्न लगाउँछ । त्यसपछि नेपाली बैंकले उताको बैंकलाई सामान डेलिभरी दिनू, भुक्तानी हामी दिन्छाैं भनेपछि सामान त्यहाँबाट हिँड्छ र भन्सार आइपुग्छ । जब भन्सारमा सामान आइपुग्छ, त्यसपछि नेपाली बैंकले उताको बैंकलाई भुक्तानी गर्छ ।
खासमा युसान्स एलसी सिस्टम यही हो । यसैलाई महिनासम्म पर सार्ने गरी युसान्स एलसी खोलिदिन सरकारसँग आग्रह गरिएको थापा बताउँछन् ।
युसान्सबाट सामान मगाउँदा केन्द्रीय बैंकलाई कुनै नोक्सान हुँदैन । सरकारलाई राजस्व प्राप्त हुन्छ भने व्यापारीले व्यवसाय पनि गर्न पाउँछन् ।
सधैंभरि युसान्स एलसीमा सामान पठाउन सम्भव हुँदैन । तर, नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा विदेशी पाटी राम्रोसँग जानकार भएकाले ६ महिनापछि भुक्तानी गर्ने गरी सामान पठाउन तयार हुन्छन् ।
युसान्स भनेको बैंकमा डकुमेन्ट बुझाएको ३० दिन, ६० दिन र ९० दिनपछि भुक्तानी पाउँछ । १२० दिनपछि भुक्तानी पाउने भएकाले बैंकले तुरुन्तै डेभिड गर्दैन । अल्पकालीन समस्या समाधान युसान्स एलसी सप्लायर्सले पैसा पाउने ग्यारेन्टी गर्छ । तर, उसले सामान भन्सारमा आउनासाथ नपाउने हुँदा अहिलेको समस्या समाधान हुने गोल्छाको भनाइ छ ।
पहिले पनि थियो यस्तो व्यवस्था
नेपालमा पहिले पनि युसान्स एसलीबाट सामान आउँथ्यो । बीचमा केन्द्रीय बैंकले बन्द गरेको थियो । तर, यसलाई पुनः खुलाउन सरकारसँग व्यवसायीले माग गरिरहेका छन् ।
बजारमा लगानीयोग्य रकम धेरै बढी भएका बेला केन्द्रीय बैंकले युसान्स रोकेको थियो । आफैंसँग पर्याप्त पैसा छ भने अनावश्यक रुपमा किन क्रेटिड लिइरहने भन्ने आशयबाट केन्द्रीय बैंक अघि बढेको थियो । भुक्तानी गर्ने जति लामो समय राख्यो, त्यतिको ब्याज त आपूर्तिकर्ताले पाइरहेको हुन्छ । १२० दिनपछि भुक्तानी गर्ने सहमति हुन्छ भने पार्टीले त्यसमा ब्याज जोडेर सामानको मूल्य निर्धारण गरी नेपाल पठाएको हुन्छ ।
नेपालमा पर्याप्त पैसा हुँदाहुँदै अतिरिक्त पैसा विदेशतिर गयो, त्यस्तो नहोस्, भनेर केन्द्रीय बैंकले रोकेको हो ।
के हो युसान्स एलसी ?
युसान्स एलसीको प्रक्रियाअन्तर्गत विदेशका कारोबारीसित नेपालका बैंकले भुक्तानीको ग्यारेन्टी गर्छन् । यही ग्यारेन्टीका आधारमा नेपालका कारोबारीले उधारोमा मालसामान ल्याउँछन् ।
यसरी बैंक ग्यारेन्टी बसेर ल्याएको मालसामानको भुक्तानी १ सय २० दिनमा डलरको भाउमा गर्नुपर्छ । बैंकमा भुक्तानी गर्ने दिन डलरको जुन दर छ, त्यही दरअनुसारको नेपाली मुद्रा तिर्नुपर्ने हुन्छ ।
कसरी भयो बन्द ?
२०७४ असार २३ गते नेपाल राष्ट्र बैंकको परिपत्रले युसान्स एलसीको कारोबारलाई रोक लगाएको हो ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागको परिपत्रको ३ (ग) मा उल्लेख भएअनुसार ‘नेपालका कुनै पनि बैंकले युसान्स आयात प्रतीतपत्रको कागजात डिस्काउन्ट गर्न बन्द गरिएको’ हो ।
धमिलिँदै नेपालको छवि
नेपालका व्यावसायिक घराना र बैंक तथा वित्तीय संस्थाहरुको छवि खराब हुँदै गइरहेको छ । अर्थतन्त्रलाई लिएर खराब समाचारहरु बाहिरिन थालेपछि एलसी खोलेर पनि सामान नपठाउलान् भन्ने डर भइसकेको व्यवसायीले गुनासो गर्न थालेका छन् । उता सामान पठाउने कम्पनीहरुले पनि नेपालका पार्टीसँग विश्वास गुमाउँदै लगेका छन् ।
नकारात्मक हल्ला अत्यधिक फैलिन थालेपछि विदेशी कम्पनीले नेपाललाई अविश्वास गर्ने अवस्था आउँछ ।
विदेशीले एलसीको आधारमा सामान पठाएका हुन्छन् । सामान आइसकेपछि भुक्तानी नहुने कि भन्ने चिन्ता थाल्नु राम्रो नभएको थापाको भनाइ छ ।