काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले अक्टोबरभित्र साउदी अरबमा वाइडबडी जहाजले उडान गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले साउदी अरबमा जहाज उडान गर्नका लागि आवश्यक तयारी थालिएको जानकारी दिए ।
साउदीमा विषेश गरी रोजगारीका लागि नेपाली युवा जाने गरेका छन् । वाइडबडी जहाजले लामो र नयाँ गन्तव्यमा उडान गर्न नसकिरहेका बेला साउदीमा उडान गर्ने तयारीलाई तीव्रता दिइएको निगमका अध्यक्ष खरेलको भनाइ छ ।
साउदीमा उडान गर्नका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि आइतबार टेन्डर आह्वान गरिएको छ । निगमले यात्रुदेखि कार्गो एजेन्टहरु लागिसमेत ग्लोबल टेन्डर आह्वान गरेको हो ।
निगमले साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरेको छ । निगमले साताको ३ दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्ने भएको छ । उडान अनुमतिको लागि प्रक्रिया अगाडी बढाउन नमिल्ने भएकोले तत्कालै जीएसए टुंगो लगाउने निगमका प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । जीएसएका इच्छुकहरुले १५ दिन भित्रमा आवेदन दिनु पर्ने छ । जीएसएको टुंगो एक महिना भित्रमा लागिसक्ने छ ।
साउदीमा जीएसए नियुक्तिका लागि यसअघि दुई पटक टेन्डर आह्वान गरिएको थियो । तर, कुनै पनि कम्पनीले निवेदन नदिएपछि अर्को सूचना जारी गरेको हो । हाल निगमले दिल्ली, बङ्गलादेश, मुम्बई, क्वालालम्पुर, बैङ्कक, हङकङ, दोहा र दुबईमा उडान गर्र्दैै आएको छ ।