काठमाडौं । सुन्दर एवं पर्यटकीय नगरी इलाममा जन्मिएकी देवका बुढाथोकीको परिचय बहुआयामिक छ । उनी एक सफल महिला उद्यमी हुन् । यसबाट राम्रै नाम–दाम कमाइरहेकी उनले आफूसँगै सक्रिय व्यवसायमा हजारौं महिलालाई पनि सँगसँगै उद्यमी बनाउँदै उद्यमशीलताको यात्रामा आफूसँगै हिँडाइरहेकी छिन् ।
देवकाको रिजनल हेन्डिक्राफ्टस इन्डस्ट्री नामक कम्पनी छ । कम्पनीले हस्तकलाका विभिन्न सामग्रीहरु उत्पादन गर्छ ।
२०६१ सालदेखि सक्रिय व्यवसायमा लागिपरेकी देवकाले बेरोजगार र आर्थिक अभाव झेलेका महिलाहरुलाई एकत्रित गरी उद्यमीको दज्र्यानी प्रदान गरेकी छन् । उनका उत्पादन विश्वका कैयौं मुलुकमा पुगेका छन् । उनको एकल प्रयासबाट आज झन्डै ४ हजार महिलाहरु उद्यमी बनेका छन् ।
‘गाउँमा बेरोजगार भएर आर्थिक अभाव झेलिरहेका महिलालाई डोेर्याएर उद्यमी बनाएकी छु’, बुढाथोकी भन्छिन्, ‘साथै उनीहरुले उत्पादन गरेका सामग्री किनेर तिनलाई चिनियाँ बजारमा निर्यात गरिरहेकी छु ।’
त्यसबाहेक उनले उद्यमशील महिला महासंघ नामक संस्थासमेत स्थापना गरेकी छन् । जहाँ ७७ जिल्लाका १७ हजारभन्दा बढी महिला उद्यमीहरु जोडिएका छन् । तिनीहरुले उत्पादन गरेका सामग्रीको बजार पनि उनै देवकाको काँधमा छ ।
बुढाथोकीको व्यवसाय यात्रा अकस्मात् भने भएको होइन । रिजनल हेन्डिक्राफ्टसभन्दा अघि उनी बुटिक चलाउँथिन् । त्यही“बाट उनको व्यावसायिक यात्रा सुरु भएको हो । र, पुगेको हो हस्तकला उत्पादनतिर ।
झापामा बुढाथोकीले देखिन्– अनावश्यक कुरा गरी समय व्यतित गरेका थुप्रै महिला दिदीबहिनीहरु । आफू पनि केही न केही गरिरहने, अरु कसैले पनि केही गरुन् भन्ने चाहने देवकालाई त्यसरी समय बर्बाद गरिरहेको मन परेन । बरु त्यो समयलाई उद्यमशीलतामा लगाउँदा व्यस्त पनि भइने र राम्रो आम्दानी पनि हुने उपाय थाहा पाएपछि उनले ती महिलाहरुलाई उद्यमी बन्न प्रोत्साहित गरिन् । तालिम दिइन्, सीप सिकाइन् । र, पछि उनीहरुले उत्पादन गरेका सामग्री पनि किनिदिइन् ।
उनै बुढाथोकीको प्रोत्साहन अहिले ती महिलाहरुलाई वरदान साबित भएको छ ।
बुढाथोकी हस्तकलाई पनि नयाँनयाँ प्रयोग गर्न मन रुचाउँथिन् । त्यही भएर उनले पराल, मकैको खोस्टा आदिको प्रयोग गरी सामान बनाउने सीप थुप्रै महिलाहरुलाई सिकाइन् । अहिले पराल, मकैको खोस्टा, सिक्की, थाकल आदि वस्तुवाट थैली, पर्स, ह्याट, बास्केटलगायतका तयारी वस्तु बनाइरहेको उनी बताउँछिन् ।
उनले सुरुमा ५ जना विभिन्न क्षेत्रका महिलाहरुलाई एकत्रित गरिन् । सीप सिकाइन् । अहिले उनीहरुले आफ्नो रुचि र लगनशीलतालाई प्रयोग गर्दै स्थानीय तहमा पाइने कच्चा पदार्थबाट जनजीवनमा उपभोग्य उत्पादनको उत्पादन गरिरहेका छन् ।
‘७७ जिल्लामा नै महिला दिदीबहिनीहरुको नेटवर्क छ’, बुढाथोकी भन्छिन्, ‘उनीहरुले प्राकृतिक रेसाबाट बनाएका ब्याग, बास्केट, थैलीको माग अत्यधिक छ ।’
चिनियाँ व्यवसायीले वार्षिक रुपमा १० लाख थान ब्यागको माग गरे पनि आफूहरुले वार्षिक रुपमा १ लाख थान मात्रै निर्यात गर्न सकेको उनको दाबी छ ।
चीनबाट ठूलो परिमाणमा ब्यागको माग आएपछि इच्छुक महिला सदस्यहरुलाई प्रशिक्षण दिई दक्ष जनशक्ति तयार गरी सामान बनाएर अहिले निर्यात सुरु भएको छ ।
उनका अनुसार अहिले महिला उद्यमीले वार्षिक ७ करोडको सामान निर्यात गरिरहेका छन् । सबै महिलाले उत्पादन गरेको सामान एकै ठाउँमा कलेक्सन गर्ने र निर्यात गर्ने काम भइरहेको छ ।
स्वदेशमा आवश्यक पुँजीको अभावमा खेर गइरहेका कच्चा पदार्थलाई पूर्णरुपमा सदुपयोग गर्न सकिएको छैन । विकासमा पिछडिएका स्थानमा प्राकृतिक रेशाका वस्तु उत्पादन गर्ने स्रोत–साधन बनाई महिलालाई रोजगारीमा लगाउने, उद्यममा जोड्न सकिने उनको अनुभव छ ।
‘हामीसँग प्रशस्त प्राकृतिक स्रोत–साधन तथा कृषि उपज उत्पादन हुन सक्ने अवसर छ’, बुढाथोकीले क्यापिटल नेपाललाई सुनाइन्, ‘तर, पनि ती वस्तुको व्यवस्थित उत्पादन तथा निर्यात हुन सकेको छैन ।’
उनका अनुसार स्वदेशी उत्पादन विदेशमा निर्यात मात्र नभई सम्बन्धित राष्ट्रको कला, संस्कृति सीप र मौलिकता पनि विश्वबजारमा पुग्ने अवसर हो ।
‘यहाँको कला, संस्कृति र सीप एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै संरक्षण एवं संवद्र्धन पनि हुँदै आएको छ’, आफ्नो सोच र उद्देश्यबारे बुढाथोकी सुनाउँछिन्, ‘विभिन्न दुर्गम गाउँमा रहेका तथा कुनै आधुनिक शिक्षा तथा रोजगारीबाट पिछडिएका महिला वर्गको आय आर्जनका लागि प्रारम्भिक तालिम उपलब्ध गराई रोजगारीको अवसर सिर्जना गर्नु हो । यस्तै उक्त क्षेत्रमा पाइने कच्चा पदार्थको सदुपयोग गरी आयात प्रतिस्थापनमार्फत स्वदेशमै उत्पादित सामानलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दा विदेशी मुद्रा पनि आर्जन हुन्छ ।’
खास गरी जागरुक, उद्यमशील तथा क्षमतावान् व्यक्तिलाई पे्ररित गर्ने, व्यवासायिक व्यक्ति उत्पादन गर्ने तथा उद्यमशीलताको विकास गर्दै नयाँ उद्यमीको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
बुढाथोकीका अनुसार स्वदेशमा प्राकृतिक रेशा वनस्पतिको ठूलो स्रोत छ । नेपालको भौगोलिक धरातलअनुरुप हिमाल, पहाड तथा तराई भित्री मधेसका प्रायः सबै ठाउँमा प्राकृतिक रेशदारा वनस्पतिको उपलब्धता छ । यद्यपि प्रचलनमा आएका पराल, अल्लो, कटन, जुट आदि नै हुन् । यिनको प्रयोग गरी कार्पेट, अल्लो, गार्मेन्ट, जुट फ्याब्रिक एन्ड ब्याग, बास्केट, ह्याट, गिफ्ट आइटम बनाउन सकिन्छ । यी सबै उत्पादन हस्तकलाका माध्यमबाट नै हुने बुढाथोकी सुनाउँछिन् ।
हस्तकलामा ठूलो जनशिक्त प्रयोग हुने भएकाले ठूलो संख्यामा उत्पादन पनि हुन्छ । हातबाट कलाकृति बन्ने हुनाले मेसिनबाट उत्पादन भएजस्तो छिटो हुँदैन । यसमा आफ्नै मौलिकता नै नेपाली हस्तकलाको विशेषता रहेको उनी बताउँछिन् ।
नेपालमा हस्तकलाका सामानलाई ४२ समूहमा वर्गीकरण गरिएको छ । यस्ता उत्पादन कार्यका लागि कुनै शिक्षाको सीमा आवश्यक छैन । सीप र लगन भएका जोसुकैले पनि सजिलैसँग काम गरी आफ्नो सुविधाअनुसार घरमै बसेर पनि स्वरोजगार बन्न सकिने बुढाथोकीको भनाइ छ ।
बुढाथोकी आफैं पनि व्यवसायमा आवद्ध महिला हुन् । उनले विभिन्न बैंकबाट महिला उद्यमी शीर्षकमा कर्जा लिएर व्यवसायलाई सफलतापूर्वक सञ्चालन गरिरहेकी छन् । त्यसबाहेक उनले जो–जो महिलालाई उद्यमी बनाइन्, उनीहरुलाई पनि कुनै न कुनै बैंकबाट ऋण दिलाइदिएर आफू सँगसँगै उद्यमशीलताको यात्रामा हिँडाइहरेकी छिन् ।