जनकपुर । अस्तव्यस्त सडक । वरिपरि फोहोरको डंगुर । फोहोरको दुर्गन्धले नाक च्याप्नुपर्ने । ढल फुटेर बगेको पानीसहित दिसा र लामखुट्टेको गुँड ।
तपाईं हाम्रो दिमागमा बसेको जनकपुर यही हो, यस्तै हो । अझ विगत केही समय अघिसम्म त भ्रष्टाचार र आपराधिक गतिविधिमा समेत जनकपुर अघि थियो ।
देश शान्ति प्रक्रियामा गइसकेपछि पनि जनकपुरले धेरै ठक्कर खाएको छ । पटक–पटक भएका विभिन्न आन्दोलनमा जनकपुरवासीले अनाहकमा ज्यान गुमाएका छन् । कतिपय आन्दोलन त तुहिएर उपलब्धिविहीन भएका छन् । त्यसको मूल्य सम्भवतः इतिहासको कुनै पानामा लेखिएको छैन । बरु समाचारका रुपमा लेखिएको होला केही सीमित अखबारका पानाहरूमा ।
जुन उद्देश्यका लागि आन्दोलन गरिएको थियो, त्यसले स्वार्थको राजमार्ग भेटायो । आन्दोलन गर्न उक्साउने वा त्यसको नेतृत्व गर्नेहरुको जीवनमा कायापलट आइसकेको छ । तर, जनकपुरवासी (हरेक आन्दोलनका सक्रिय सहभागी) को जीनवमा कहिल्यै सुधार आएन । न जनकपुरको मुहार नै फेरिन सक्यो ।
यी त भए विगतका कुरा । तर, वर्तमानलाई हेर्ने हो भने जनकपुरले बल्ल पुरानो परिचय बदल्ने कोसिस गरेको देखिन्छ ।
‘जनकपुरवासीको सोच बदलिएपछि मात्रै जनकपुरको रुप बदलिएको हो’ जनकपुर साहित्य महोत्सवमा सहभागी हुन् आइपुगेका राजनीतिक विश्लेषक हरि शर्मा भन्छन्, ‘जनकपुरवासीले लामो समय आफू निरन्तर प्रयोग भइरहेको बुझेर सोच परिवर्तन गरेपछि यसले रुप परिवर्तन गर्न खोजेको हो ।’
अहिले जनकपुरका दुई किनारामा कतै पनि फोहोर देखिँदैन । यसको उचित व्यवस्थापन गरिएको छ । अस्तव्यस्त सडक र ढलको पनि उचित व्यवस्थापन गरिएको छ ।
साँच्चिकै अहिले जनकपुर ‘सुगन्धपुर’ बनेको छ ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक यस नगरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखेर सुरु भएको विकास परियोजनाले जनकपुरवासीको सोच रसोच परिवर्तन गरेको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत बताउँछन् ।
जनकपुर सफा, सुन्दर र सुसंस्कृत बन्दै गएको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको जनकपुरका पोखरीको सौन्दर्यकरण, ढल–नाला र शौचालय निर्माणका लागि सरकारले २ अर्ब रुपैयाँ खर्च गरेको छ ।
जनकपुरधाम सह–लगानी सरसफाइ तथा पोखरी सम्वद्र्धन आयोजना र जनकपुरधाम सह–लगानी ड्रेनेज आयोजनाअन्तर्गत सरकारले यहाँका पोखरी सौन्दर्यकरण, शौचालयको निर्माण र ड्रेनेज निर्माण गरी सरसफाइमा सुधार ल्याएको हो ।
त्यसै गरी जनकपुरधामको मुहार फेर्ने गरी जनकपुरसहित धनुषामा एक दर्जनभन्दा बढी विकासका योजना सञ्चालमा छन् ।
जनकपुर नगर क्षेत्रका सडक तथा ढल निर्माणमा एकीकृत सहरी विकास आयोजना छन् भने सीमावर्ती जटही–जनकपुर–ढल्केबर जोड्ने ६ लेन सडक निर्माण हुँदैछ । ब्रोडगेज जनकपुर रेल्वेको स्तरोन्नति सकिएको छ । यसका साथै हुलाकी सडक, परिक्रमा सडक, जनकपुर–खरिहानी सडक निर्माणको चरणमा छन् ।
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमै छ । नेपालको ख्यातीप्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुनाका रूपमा पनि हेरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दूको आस्थाको केन्द्र हो । यही कारण पनि जनकपुर पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
‘यहाँ नेपालको प्रसिद्ध जानकी मन्दिर छ । हिन्दू धर्मालम्बीका लागि एक महत्वपूर्ण स्थल, मैथिली संस्कृतिको केन्द्र तथा नेपालको एक मात्र रेल सुविधा भएको सहर भएकाले पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ’ सामाजिक अभियान्ता मनीष झा बताउँछन् ।
जनकपुरधामको अर्काे विशेषता भनेको यहाँका पोखरी, कुण्ड र कुटीहरू हुन् । ५२ कुटी (मठ तथा मन्दिर) र ७२ वटा (कुण्ड पोखरी, कुवा, इनार) छन् । यस्तै जनकपुरधाममा विहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अङ्गराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दशरथ तलाउ, पापमोचनी सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिणी सर, मुरली सर, विडाल सर, राम सर, कपालमोचनी सर, महाराज सागर, पाकवति सर, धौतपाप सर आदि प्रख्यात छन् ।
यसबाहेक यहाँका पोखरीहरूको ‘जनकपुरे माछा’ नेपालमै प्रख्यात छ ।
जनकपुरले विदेशी पाहुना भित्र्याएर मात्रै मनग्य आम्दानी गर्न सक्छ । यहाँ कैयौं त्यस्ता पर्यटकीय संरचना छन्, जसलाई उचित संरक्षण गर्दै बजारीकरण गर्न सकिन्छ । त्यसबाट हुने आम्दानीले जनकपुरवासी मात्रै नभई मधेश प्रदेशकै आर्थिक मुहार परिवर्तन गर्न सकिन्छ ।
जनकपुरमा औद्योगिक नगरी छैनन् । तर, जनकपुरको माछाको नेपालभर उच्च माग छ । यहाँ व्यावसायिक रुपमा माछा खेती गरेर नेपालभर आपूर्ति गर्ने हो भने पनि त्यसले यहाँको आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याउने विश्लेषक शर्माको भनाइ छ ।
अहिले जनकपुरवासीको सोच विस्तारै फेरिँदै गएको छ । उनीहरु राजनीतिक आन्दोलनमा भन्दा आफ्नो व्यापार÷व्यवसायमा बढी केन्द्रित भएको देखिन्छ ।
यदि जनकपुरमा पर्यटकलाई आकर्षित गर्ने हो भने काठमाडौं स्थापित ब्रान्डलाई यहाँ भित्र्याउन जरुरी छ । विदेशी पाहुनालाई खान÷बस्नका लागि अझै सुविधायुक्त होटलहरुको अभाव छ । होटलमा दिइने सेवा÷सुविधा अझै सुधार्नुपर्ने देखिन्छ ।
मधेश प्रदेशले धेरै उद्यमीहरु जन्माएको छ । यहीँ जन्मेर उद्यमी बनेकाहरु आफ्नो ठाउँमा लगानी गर्न तयार छैनन् । सामान्य घटना हुँदा पनि जनकपुर तातिहाल्छ र यसले विध्वंस मच्चाउँछ भन्ने यहाँका उद्योगी÷व्यवसायीको बुझाइ छ ।
मधेश प्रदेशमै जन्मिएर व्यवसायीको परिचय बनाएका रामेश्वर साहका अनुसार जनकपुरमा जति बेला जे पनि हुन सक्छ । सोही कारण लगानी गर्न कोही तयार भइहाल्दैन । जनकपुरवासी अझै परिवक्व भइनसकेको उनको बुझाइ छ ।
‘यहाँ कति दिन बन्द हुन्छ भन्ने कसैलाई थाहा हुँदैन’, उनले क्यापिटल नेपालसँग भने, ‘त्यस्तो अनिश्चिततामा कसरी लगानी गर्ने ?’
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ मधेश प्रदेशको राजधानी जनकपुरमा ठूला उद्योग लाग्न थालेका बताउँछन् । मधेश प्रदेशमा थुप्रै उद्योगहरु सञ्चालित भए तापनि जनकपुरमै भने अहिलेसम्म ठूलो उद्योग नै छैन ।
जनकपुरले विगतमा कमाएको धुमिल छविलाई जतिसक्दो छिटो मेट्न जरुरी देखिन्छ । ठूला उद्यागको स्थापना, काठमाडौंका स्थापित ब्रान्डलाई जनकपुर भित्र्याउने काम, सुविधासम्पन्न होटल तथा आन्तरिक/बाह्य पर्यटक लक्षित विभिन्न सेवा/सुविधातर्फ ध्यान दिन सक्ने हो भने अनि मात्र जनकपुर सबै कुराले परिपूर्ण बन्न सक्छ । माथि भनिएजस्तै जनकपुर साँच्चिकै ‘सुगन्धपुर’ बन्न सक्छ ।