काठमाडौं । सेवाग्राहीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारीलाई विदेश सयर नगराए पाइलटको तालिम गर्नसम्म पाउँदैनन् ।
क्यानले छनोट गरेका कर्मचारीलाई सेवाग्राही (पाइलट ट्रेनिङ स्कुल)ले विदेश सयर गराएपछि मात्रै पाइलटलाई तालिम लिन बाटो खुल्ने गरेको पाइएको छ ।
तालिमस्थल तथा जहाज मर्मत गर्ने ठाउँको निरीक्षण गर्ने बहानामा क्यानबाट प्रत्येक पटक सेवाग्राहीले ३ देखि ४ जना कर्मचारी लैजानै पर्ने अवस्था छ । यदि नलगे पाइलटलाई तालिम लिन र जहाज मर्मतका लागि क्यानले अनुमति नदिने गरेको पाइएको हो ।
युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (यासा)ले सर्टिफाइड गरेका ठाउँमा क्यानका कर्मचारी निरीक्षणको रुपमा जाने गरेका छन् । यासा इयूको हवाइ रेगुलेटर बडी हो । यासा, जसले नेपाललाईसमेत कालो सूचीमा राखेको छ ।
यासाले सर्टिफाइड गरेका ठाउँमा नेपाल बाहेक अन्य देश (भारत, चीन सिङ्गापुर, बङ्गलादेश तथा श्रीलङ्का) सिभिल एभिएसन अथोरिटीका कुनै पनि कर्मचारी जाने गरेका छैनन् । तर, नेपालबाट सेवाग्राहीले पाइलटलाई तालिम दिनुपूर्व तालिम लिने ठाउँको निरीक्षण गर्न अनिवार्य पठाउनुपर्छ ।
क्यानबाट गएका कर्मचारीले निरीक्षण गरेर फर्किएपछि ‘ठिक छ’ भनेर प्रतिवेदन दिएपछि मात्रै क्यानले पाइलटको तालिम लागि अनुमति दिने गरेको छ । क्यानका उडान सुरक्षा स्टयान्डर्ड मेन्टिनेन्स प्रमुख राजु श्रेष्ठले जुनसुकै रेगुलेटरले सर्टिफाइड गरे पनि क्यानले निरीक्षण गर्नुपर्ने र त्यही क्रममा निरीक्षणमा गएको बताए ।
यासा वा एफएए जसले सर्टिफाइड गरे पनि त्यसैलाई अन्तिम रुप दिन नसकिने र अन्तिम रुप दिए पनि आइकाओले नमान्ने उनको भनाइ छ । तर, आइकाओको महासन्धीमा एउटा सदस्य राष्ट्रले सर्टिफाइड गरेकालाई अन्य सदस्य राष्ट्रले मान्यता दिनुपर्ने हुन्छ । नेपाल पनि सदस्य राष्ट्र हो । भारतलगायत अन्य देश सदस्य राष्ट्र भएकै कारण निरीक्षण गर्न जादैनन् ।
स्रोतका अनुसार क्यानबाट जाने कर्मचारीलाई तह अनुसार दैनिक २ देखि ३ सय अमेरिकी डलरसम्म भत्ता दिनुपर्ने र उनीहरु जति दिन बस्छन्, त्यति दिनसम्म खान र बस्ने व्यवस्था समेत सेवाग्राहीले मिलाउनुपर्ने हुन्छ ।
क्यानले आफ्ना खर्चमाभन्दा पनि सेवाग्राहीको खर्चमा विदेश पठाउँदै आएको छ । आफ्नो खर्चमा नलैजाउ भने क्यानले पाइलटलाई तालिम लिनबाट रोकिँदिन्छ, जहाज मर्मत गर्न लैजान दिँदैन । सेवाग्राहीले बाध्य भएर क्यानका कर्मचारी लैजानु परेको छ ।
अहिले पनि हवाई सुरक्षा विभागका कर्मचारी माल्टा पुगेका छन् । माल्टा इयूको सदस्य राष्ट्र हो । यासाले माल्टामा भएको तालिम केन्द्रलाई सर्टिफाइड समेत गरेको छ । त्यही ठाउँ निरीक्षणका लागि क्यानका कर्मचारी त्यहाँ पुगेका हुन् ।