काठमाडौं । विद्युत् आपूर्ति अनियमित भई झ्याप्प– झ्याप्प जाने क्रम बढेपछि उपभोक्ता आक्रोशित हुन थाले । त्यही आक्रोशलाई मत्थर पार्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरे ।
सम्मेलनमार्फत उनले खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजैबाट समाधान हुने बताएका थिए । तर, सोमबार भइसक्दा पनि कुलमानले गरेको प्रतिबद्धता पूरा भएन अर्थात् लामो समयसम्म बिजुली जाने क्रम रोकिएको छैन ।
प्राधिकरणमा पत्रकार सम्मेलन गरेको एक साताअघि ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि कुलमानले काठमाडौं उपत्यकामा शनिबारभित्र २ हजार ट्रान्सफर्मर बदलेर बिजुली आपूर्ति सहज बनाउने कुरा गरेका थिए ।
तर, विडम्बना ! दुई–दुईपटकसम्म प्रतिबद्धता जनाउँदा पनि बिजुली आपूर्ति नियमित नभएर उपभोक्ता हैरान छन् । यस्तै झ्याप्झ्याप्प आउने जाने गर्दा उपभोक्ताका इन्डक्सन चुलो, राइस कुकरलगायत अन्य विद्युतीय उपकरणसमेत जलेका छन् । यति ठूलो समस्या आउँदा पनि प्राधिकरण व्यवस्थापन गम्भीर बनेको छैन ।
राजधानीका वितरण केन्द्रहरुमा बिजुलीको समस्या लिएर जाँदा प्रमुखहरुले तत्कालै समाधान हुन्छ भनेर ओठे जवाफ दिने तर आपूर्ति नहुने गरेको गुनासो सर्वसाधारणको छ । काठमाडौं उपत्यकाका साथै प्रमुख सहरहरुमा पनि विद्युत् आपूर्तिमा ठूलो समस्या देखिएको छ ।
यता प्राधिकरणले औद्योगिक नगरी वीरगन्जमा अघोषित लोडसेडिङ सुरु गरेको छ । प्राधिकरणले पर्याप्त बिजुली दिन नसकेपछि ट्रान्सफर्मर पड्किन लागेसँगै औद्योगिक नगरीमा अघोषित लोडसेडिङ सुरु भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बिजुली खपत बढाउन सार्वजनिक आह्वान गर्ने तर प्रणाली सुधार्न कुनै ध्यान नदिँदा उद्योगहरुले समस्या बेहोरिरहेका छन् ।
निम्बस होल्डिंग्सका कार्यकारी निर्देशक डा. दिनेश गौतमले प्राधिकरणले हप्तामा ३ दिन भनेरै बिजुली काटेको बताए । बुधबार, बिहीबार र शुक्रबार भनेरै बिजुली काट्न थालेको उनको भनाइ छ ।
खासगरी, औद्योगिक नगरी वीरगन्ज, भैरहवा, विराटनगर लगायतका क्षेत्रमा प्राधिकरणका कर्मचारीले सूचना जारी गरेरै विद्युत् आपूर्ति बन्द गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रणाली सुधारतिर प्रयास नगर्दा समस्या आएको उद्योगीको गुनासो छ ।
जताततै गुनासा
उपभोक्ताहरु झ्याप्प–झ्याप्प बत्ती जाने क्रम बढेको गुनासो गरिरहेका छन् । काठमाडौंकाे बत्तीसपुतली, वनस्थली, भक्तपुरको दधिकोट, थिमी, गुन्डुका साथै बालाजुका साथै अधिकांश क्षेत्रमा बिजुली आपूर्तिमा समस्या आएको छ । बत्तीसपुतलीका राजेन्द्र ढकाल हिजोआज पटक–पटक लाइन काटिन थालेको बताउँछन् ।
भक्तपुरका सनम वैद्यले आइतबार साँझ गएको लाइन मध्यरातसम्म नआएको बताउँदै सोधे, ‘नो लाइटमा फोन नै उठेन । प्राधिकरणमा कुलमान आउँदा पनि यस्तो समस्या कहिलेसम्म भोग्नुपर्ने हो ?’
बिमल पोखरेलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै ‘मिडियाका सम्पादक दाजुहरु, हितेन्द्रदेव शाक्य प्राधिकरण प्रमुख भएको समयमा बत्ती जाँदा र अहिले कुलमान भएको समयमा बत्ती जाँदा तपार्इंहरुले लेखेका समाचारहरुको हेडिङ हेर्नुस् ।
जनतालाई कति बेवकुफ बनाउनुभएको छ ? नेपाली जनतालाई कोही कसैले बेवकुफ बनाउँछ भने मिडियाका सम्पादकहरुले पनि हो है’ भनेर ट्वीट गरेका छन् । यस्ता गुनासा अहिले समाजिक सञ्जालमा बग्रेल्ती आइरहेका छन् । धेरैले लोडसेडिङ हो कि भन्ने प्रश्न उठाएका छन् ।
कुलमानको ध्यान कता ?
कुलमान घिसिङ दोस्रोपटक कार्यकारी निर्देशक भएर आएपछि उनको ध्यान सिस्टम सुधार्नभन्दा पनि अन्यत्रै गएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् ।
प्रणाली सुधारेर अहिलेको समस्या सल्ट्याउनुभन्दा पनि उनको जोड खरिदतिर बढी देखिएको छ । घिसिङको दोस्रो इनिङलाई सबैले स्वागत गरे पनि उनको कामकारबाहीबाट अहिले सर्वसाधारण जनता आजित भएका छन् ।
गुनासो चुलिएको मन्त्रालयको आकलन
नेतृत्व परिवर्तनपछि प्राधिकरणमा विद्युत् आपूर्तितर्फको व्यवस्थापन कमजोर देखिन थालेको मन्त्रालयका अधिकारी बताउँछन् । माग धान्न बिजुली पर्याप्त भए पनि पूर्वाधार कमजोर भएकाले आपूर्तिको व्यवस्थापन चुनौती रहेको उनको भनाइ छ ।
वितरण केन्द्रलाई प्राधिकरण नेतृत्व तहबाट दिइने दबाब र प्रोत्साहन कम भएर हेलचक्र्याइँ बढेको निष्कर्ष छ । ‘नेतृत्व परिवर्तन हुने भएपछि एक महिनाअघिबाटै तलका बिजुली अड्डामा माथिको कुरालाई बेवास्ता गर्ने क्रम सुरु भएको थियो’ उनी भन्छन्, ‘पहिले लाइन गयो भनेपछि माथिको गाली खाइन्छ भनेर छिटो हुने मर्मतका काम अहिले आनन्दले गर्ने शैली देखिन थालेको छ ।’
प्राधिकरणका सम्बन्धित कर्मचारीले ग्राहकको फोनको रेस्पोन्स नगर्ने, गरे पनि ढिलो गर्ने र समयमै काम नसक्ने कारणले जनगुनासो चुलिएको ती अधिकारी बताउँछन् ।
यसो भन्छन् प्राधिकरणका प्रवक्ता
यता विद्युत प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले विद्युत् आपूर्ति व्यस्थापनको काम भइरहेको दाबी गरे ।
धेरै स्थानमा ओभरलोड भएकाले लोड मिलाउने काम भएको भन्दै कुनै फिडरमा ओभरलोड र कुनैमा कम लोड देखिएको र ओभरलोडलाई कम लोड भएको फिडरमा सारेर प्रणालीलाई व्यवस्थित गर्ने काम भइरहेको भट्टराईको भनाइ छ । उनका अनुसार बिजुलीको माग बढेर १६५० मेगावाट पुगेको छ ।
साथै वीरगन्ज औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको पनि उनले जानकारी दिए । वीरगन्जमा अहिले विद्युत् आपूर्ति बढाउन ६६ केभी क्षमताको तारलाई बदल्ने काम भएकाले आपूर्ति बन्द भएको उनले बताए । हाल ६६ केभीबाट ८० मेगावाट मात्र आपूर्ति भएकाले तार बदलेर १८० मेगावाटसम्म आपूर्ति गर्न लागेको उनको भनाइ छ ।