काठमाडौं । वाणिज्य बैंकहरुको विदेशी मुद्रामा हुने निक्षेप परिचालन बढ्दै गएको छ । चालू आर्थिक वर्षको भदौसम्म विदेशी मुद्रामा हुने निक्षेप बढेर १ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।
भदौको पहिलो साता १ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा दोस्रो सातामा घटेर १ खर्ब २० अर्ब रुपैयाँमा झरेको थियो । एक महिनाको बीचमा २६ अर्ब रुपैयाँ डलरमा निक्षेप बढेको नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले जनाएको छ ।
पहिलो साता १ खर्ब २२ अर्ब, दोस्रो साता घटेर साता १ खर्ब २० अर्ब रुपैयाँमा झरेको थियो । तेस्रो साता बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ र अन्तिम साता १ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको एनबीएले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
साउनको पहिलो साता १ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा त्यसपछि क्रमिक रुपमा बढेर १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको थियो । स्थानीय मुद्रा र डलरसमेत गरी बैंकिङ प्रणालीमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
एनआरएन, नेपालमा काम गरेका विदेशी कर्मचारी, कूटनीतिक नियोग र नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरुले नेपालमा डलर खाता रहेको हुन्छ । यही आधारमा डलरमा निक्षेप देखिएको हो ।
निक्षेप परिचालनको तुलनामा डलरमा ऋण लगानी बढी छ । वाणिज्य बैंकहरुले अमेरिकी डलरमा गर्ने ऋण लगानी बढ्दै गएको छ । भदौसम्म विभिन्न वाणिज्य बैंकहरुले १ खर्ब ५० अर्ब रुपैयाँ डलरमा ऋण लगानी गरेका थिए ।
चालू आर्थिक वर्ष सुरु भएयता साउनमा डलरमा हुने ऋण लगानी बढेर १ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको थियो । भदौमा घटेर १ खर्ब ५० अर्ब रुपैयाँमा झरेको एनबीएले जनाएको छ ।
साउनमा बढेको डलरमा ऋण लगानीको ग्राफ भने भदौमा घट्दै गएको एनबीएले जानकारी दिएको छ । साउनको पहिलो सातादेखि भदौ अन्तिमसम्म डलरमा हुने ऋण ६ अर्ब रुपैयाँ घटेको छ । यद्यपि २०७७ चैतमा डलरमा लगानी बढेर २५९ अर्ब रुपैयाँ पुगेको थियो । असारदेखि क्रमशः घटेको थियो ।
लगानीमा उतारचढाव देखिए पनि डलरमा हुने ऋण लगानी विस्तारै बढ्दै गएको तथ्यांकले देखाएको छ । २०७६ मा ७६ अर्ब, ०७७ असारमा ९७ अर्ब रुपैयाँ डलरमा निक्षेप थियो ।
विदेशी मुद्रा कमाउने संस्था र कम्पनीहरूले विदेशी मुद्रामै ऋण लिन पाउँछन् । खासगरी विमान कम्पनीहरूले विदेशी मुद्रामा ऋण दिन पाउँछन् ।
विमान कम्पनीका साथै निर्यात व्यवसाय गर्नेहरूले पनि विदेशी मुद्रामा ऋण लिने पाउने छन् । यस्तो अवस्थामा ‘डलर टु डलर’मा ऋण जान्छ । उनीहरूले कमाएको पैसा पनि डलर खातामै हुन्छ ।
विदेशी मुद्रामा कारोबार गर्ने संस्था र कम्पनीहरूले आवश्यकता र औचित्यका आधारमा विदेशी मुद्रामै ऋण लिन सक्ने छन् । विमान कम्पनीहरूले विदेशी मुद्रा आर्जन गरेका हुन्छन् । तिनीहरूलाई विदेशी मुद्रामै ऋण दिन पाइने व्यवस्थाअनुसार विमान कम्पनीहरूले ऋण उपयोग गरिरहेका छन् ।
विशेषगरी नेपाल वायुसेवा निगमले डलरमा धेरै ऋण लिने गरेको छ । सामान्यतयाः विदेशी मुद्रा कारोबारसँग सम्बन्धित र विदेशी मुद्रा आर्जन गर्ने, जाहाज र त्यसको पार्टपुर्जा किन्नुपर्ने अवस्थामा नेपाली रुपैयाँलाई साटेर डलरमा दिने गरिएको छ । जुन अनुपातमा ऋण लगानी बढेको छ, त्यही रफ्तार विदेशी मुद्राको निक्षेप भने बढेको छैन ।