काठमाडौं । ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचबिखनमा परी उद्धार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।
संस्थानले सम्बन्धित स्थानीय सरकारसँंग समन्वय गरी कार्यक्रममा छनोटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरूको सूची बनाउनेछ । संस्थानले छनोट गरेका व्यक्तिहरूलाई उचित अभिमुखीकरणको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्नेछ ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र संस्थानका कार्यकारी निर्देशक चिरञ्जीवी बरालले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंककाे ७६ जिल्लामा २ सय ८० शाखा, २ सय ५० एटीएम, ४७ एक्सटेन्सन काउन्टर छन् । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।