काठमाडौं । कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरू उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६०औं वार्षिकोत्सव समारोहको भर्चुअल रूपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘सञ्चयकर्ताहरूको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्याउँछ ।’ उनले भने, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’
उनले सञ्चयकर्ताहरूको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरूका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ ।
सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरूका लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ । .यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अंगभंग भएमा २ लाख प्रदान गर्छ ।
सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार काजकिरिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा १ लाख तथा घातक रोगको हकमा १० लाखसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।
वि.सं २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं.२००१ मा निजामती प्रोभिडेण्ट फण्ड र वि.सं. २०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारबाही सञ्चालन गरिएको थियो ।