काठमाडौं । गत आर्थिक वर्षमा साना बीमितका ६३ हजार ३ सय ३१ पोलिसीहरु ल्याप्स भएको छ । बिमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ठूलो परिमाणमा साना बीमितका पोलिसी ल्याप्स भएको देखिएको हो ।
साना बिमितका ठूला पोलिसीहरूमा संकट आएको छ र कोराेना संकट नसकुन्जेलसम्म यो अवस्था रहिरहने देखिएको छ । कतिपय बिमितहरू प्रिमियम तिर्न नसकेका कारण वा रकम आवश्यक परेको कारणले गर्दा पोलिसी समर्पण गर्न बाध्य भएको बिमा समितिले जनाएको छ ।
रकम अभावका कारण पोलिसी ल्याप्स हुने र केही वर्ष पोलिसी पुनर्जागरण नहुने समस्या पनि उत्तिकै छ । अर्कोतर्फ कोरानाका कारण मृत्युको दर केही मात्रामा बढेको हुँदा बिमितहरूको मृत्यु दाबी रकममा केही वृद्धिसमेत भएको छ ।
जीवन बिमाक्षेत्रमा आश्रित अर्को वर्ग हो, अभिकर्ता । अभिकर्ताहरूको आम्दानी कुल बीमा शुल्कमा आधारित हुने भएकाले गत आवमा उनीहरूको आय बढेको देखिएको हो । अधिकांश अभिकर्ताको वैकल्पिक पेशा व्यवसायसमेत भएकाले बिमाक्षेत्रको प्रभावले त्यति अप्ठ्यारो पर्ने देखिँदैन । तैपनि, कोभिड महामारी नभएको भए उनीहरूको आम्दानी अझै राम्रो हुने सम्भावना थियो । पोलिसी समर्पणका कारण आगामी वर्ष अभिकर्ताको आयमा कमी आउनेछ ।
कोराेना संकटले निम्त्याएको बन्दाबन्दी, लगानी गर्ने क्षेत्रको अभाव र भौतिक दूरी कायम गरी व्यवसाय गर्नुपर्ने भएकाले यस क्षेत्रमा मिश्रित प्रभाव परेको देखिन्छ । कोराेनाबाहेक अन्य कारणले पनि यो क्षेत्रलाई समस्याग्रस्त बनाउने सम्भावना उत्तिकै छ ।
सैद्धान्तिक कोणबाट भन्ने हो भने जीवन बिमा बजारलाई प्रभाव पर्ने तत्वहरूमा लगानीका वैकल्पिक अवसरहरू, बचतको दर, आम्दानीको स्तर हुन् । जनसांख्यिक बनोट, सांस्कृतिक, धार्मिक, राजनीतिक, कानुनी कारण राज्यको सामाजिक सुरक्षा नीति, रोजगारदाताहरूको आपना कर्मचारीको बीमा नीतिले पनि यसलाई प्रभावित गर्छ ।
कोरोना महामारीका कारण लगानीका वैकल्पिक अवसरहरूमा कमी हुँदै जाँदा जीवन बिमाप्रतिको आकर्षण बढेको छ र सावधिक बिमा पोलिसीहरूको मागमा वृद्धि भएको छ । जोखिम बढ्दै जाँदा अन्य क्षेत्र बढी जोखिमयुक्त भएकाले तुलनात्मक रूपमा बीमाक्षेत्र कम जोखिमयुक्त हुँदै गएको छ ।
यस क्षेत्रमा परेका केही नकारात्मक प्रभावहरूका बारेमा कुरा गर्दा मुख्य गरी कम्पनीहरूको आम्दानीको दोस्रो ठूलो स्रोत बीमा कोषको लगानीको प्रतिफल हो । जीवन बिमा कम्पनीको झन्डै पौने ३ खर्ब बराबर रकम मुद्दती खातामा रहेको अवस्था छ । बैंकहरूले मुद्दती खाताको प्रतिफल घटाएका छन् । यसले गर्दा कम्पनीको आयमा प्रत्यक्ष रूपमा असर गर्नेछ । यसबाट सेयरहोल्डर र पोलिसी होल्डरहरूको प्रतिफल घट्नेछ ।