विराटनगर । ‘स्टार्टअप एन्ड इनोभेसन’ कार्यक्रममा ४८ जनाको आवेदन परेको छ । उद्योग सङ्गठन मोरङले साउन १ गतेदेखि आवेदन माग गरेको थियो । कार्यक्रममा साउन १ गतेदेखि ३२ गतेसम्म आवेदन पेश गर्ने समय थियो ।
युवाहरुलाई व्यवसायमा प्रोत्साहन गर्ने उदेश्यले नयाँ व्यवसायिक सोच (आईडिया) भएका युवाहरुलाई आवेदन पेश गर्न भनिएको थियो । आवेदन परेका ४८ वटा मध्येबाट २० जनालाई छनौट गर्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयोश प्याकुरेलले जानकारी दिए ।
प्याकुरेलका अनुसार संगठनले सोचे भन्दा राम्रा आईडिया आवेदनमा रहेको उनको भनाई छ । परेका आवेदनहरुको छनौट प्रक्रियाको काम भईरहेको प्याकुरेलले जानकारी दिए ।
सङ्गठनले उद्यमी नेपालको जुनसुकै ठाउँको भए पनि उसको उद्यम–व्यवसाय भने प्रदेश १ मा हुनुपर्ने शर्तमा आवेदनको आह्वान गरेको थियो ।
स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छा र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. बिजु थपलियाले छनौट प्रक्रियाको काम गरिरहेको उनले बताए । अहिले स्क्रिनिङमा छनौटको काम भईरहेको उनले जानकारी दिए ।
भदौ भरिमा पहिलो चरणको छनौट प्रक्रिया सक्ने र असोजमा अर्को चरणको छनौट गरिने प्याकुरेलको भनाई छ । ‘सबै खाले आवेदन परेको छ’, उनले भने, ‘हामीले नयाँ सोच भएको व्यवसाय आईडियालाई प्राथमिकता दिनेछौ ।’
छनौटमा परेका नवउद्यमीलाई सङ्गठनले व्यावसायिक सीप उपलब्ध गराउने, उद्यम दर्ता प्रक्रियामा कानुनी र अन्य सहयोग गर्ने तथा उद्यमका उत्पादनलाई बजारीकरणमा मद्दत गर्ने जनाएको छ ।
नयाँ सोच भएका उद्यमी अर्थात छनौटमा परेकालाई ऋण उपलब्ध गराउन उद्योग संगठन र नबिल बैंकले सम्झौता गरिसकेका छन् । कृषि क्षेत्रमा १५ र गैर कृषि क्षेत्रमा २५ लाख रुपैयाँसम्म बिना धितो ऋण उपलब्ध गराउने बैंकसँग सहमती भएको प्याकुरेलले जानकारी दिए ।
सङ्गठनले नवउद्यमीहरुलाई साथी उद्यमी खोजिदिने, उनीहरूको बौद्धिक सम्पत्तिको संरक्षण गरिदिनेदेखि तिनका उत्पादनको बजारिकरणको काममा पनि सहयोगीको भूमिका निर्वाह गर्ने उनले जानकारी जानकारी दिए ।