काठमाडौं । लगानीयोग्य रकमको अभाव हुन थालेपछि बैंकमा ऋणका फाइल चुलिँदै जान थालेका छन् । ऋण दिन सक्ने क्षमता कमजोर हुँदै गएपछि बैंकहरूले आफू निकटका उद्योगी/व्यवसायीलाई मात्रै ऋण दिने गरेको अन्य ऋणीका फाइल चाङ लागेर बस्ने अवस्था आएको हो ।
लगानीयोग्य रकमको अभाव भएपछि धेरै वर्षपछि बैंकले फाइल छानिछानी ऋण दिने अवस्था आएको छ । नेपालमा विगत लामो समयदेखि लगानीयोग्य रकमको अभाव थिएन । त्यो बेला बैंकहरूले जो ऋण माग्न आउँछ, उसलाई मागेजति ऋण दिने गरेका थिए । तर, अहिले अवस्था फेरिएकाले जोखिम नभएका ऋणीलाई मात्रै ऋण प्रवाह गरिरहेका छन् ।
बैंकसँग पैसा नै छैन । जथाभावि रूपमा ऋण किन लगानी गर्न भनेर चिनेका र आफू निकटका व्यवसायीलाई मात्रै कर्जा प्रवाह गरिरहेको एक बैंकरले बताए । ‘बजारमा अत्यधिक तरलता हुँदा बैंकरमाथि दबाब हुन्छ । कर्जा नदिउ व्यवसाय विस्तार हुँदैन । कर्जा दिउ भोलि डुब्यो भने फसिन्छ ।
तर, अहिले त्यो अवस्था नभएकाले सुरक्षित तरिकाले लगानी गर्न बाटो खुलेको छ,’ ती बैंकरले भने, ‘अहिले ऋण माग्नेको बैंकमा घुइँचो छ । तर, बैंकसँग पैसा छैन । उनीहरूलाई फर्काउनुको विकल्प छैन ।’
एउटा बैंकले साउन र भदौ २० गतेसम्ममा मात्रै १० अर्ब रुपैयाँ हाराहारी कर्जा लगानी गरिरहेका छन् । तैपनि कर्जाको मागमा कुनै कमी नआएको बैंकरहरूको बुझाइ छ ।
कोभिडका बेलामा पनि नयाँ–नयाँ उद्योग लगाउनका लागि कर्जाको माग भएको छ । खासगरी, उत्पादनमूलक उद्योग, ट्रेडिङबाट पनि ठूलो परिमाणमा कर्जाको माग भएको छ । बैंकका अनुसार विलेट आयात गर्नका लागि एलसी खोल्नेदेखि गाडी आयात गर्नका लागि समेत कर्जाको माग भएको छ । त्यसका अलवा कच्चा पदार्थ आयात गर्न भन्दै कर्जा माग गरिएको बैंकहरूले बताएका छन् ।
तर, बैंकसँग कर्जा विस्तार गर्न सक्ने क्षमता नै नभएर ऋण लगानी नगरी बस्नुपर्ने बाध्यता छ । अहिले बैंकले धमाधम केन्द्रीय बैंकबाट पैसा ल्याएर सीआरआर व्यवस्थापन गरिरहेका छन् ।
केन्द्रीय बैंकबाट ल्याएको पैसाबाट सीआरआर व्यवस्थापन गर्न सकियो भने निक्षेपलाई कर्जाका रूपमा विस्तार गर्न सकिन्छ । नत्रभने कुल निक्षेपको ३ प्रतिशत सीआरआर व्यवस्थापनमा राख्नुपर्छ ।
त्यही भएर अहिले केन्द्रीय बैंकबाट सस्तो ब्याजमा ऋण लिएर सीआरआर व्यवस्थापन गरिरहेका छन् । निक्षेपको पैसालाई महँगो ब्याजमा ऋण दिइरहेका छन् ।