काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यवस्थालाई मौद्रिक नीतिको भन्दा कडा निर्देशक एकीकृत निर्देशनमा दिएको छ । मौद्रिक नीतिले एक व्यक्ति वा संस्थाले अधिकतम प्रतिवित्तीय संस्था ४ करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँ सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो । तर, मंगलबार जारी एकीकृत निर्देशनले एक व्यक्ति वा संस्था नभनेर एकल ग्राहक कर्जा सीमाको रुपमा व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले एक ग्राहकभित्र एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूह रहने व्यवस्था गरेको छ । मौद्रिक नीति जारी गर्दा एक व्यक्ति वा संस्था भनेकाले धेरे व्यक्तिले एउटै परिवारका धेरै व्यक्तिहरुले छुट्टाछुट्टै रुपमा कर्जा लिन सक्ने रुपमा अर्थ्याएका थिए । तर, एकीकृत निर्देशनले १२ करोड कर्जाको सीमालाई एउटै परिवार, कम्पनी वा संस्थाभित्र खुम्च्याइदिएको छ ।
यसले अब कर्जा प्रतिपरिवार वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँको मात्रै सीमा तोकिएको छ । १२ करोडभन्दा बढी सेयर धितो कर्जा लिन चाहेमा एकाघर परिवारको छुट्टभिन्न भएको हुनुपर्ने छ ।
राष्ट्र बैंकले निर्देशन जारी गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो लिने ग्राहकहरुलाई कस्न थालेका छन् । यसअघि स्वीकृत गरेका ऋण फाइलहरु पनि रोकेर बढी भएको कर्जालाई सीमामा ल्याउन दबाब दिन थालेका छन् । यद्यपि, राष्ट्र बैंकले सीमामा ल्याउन तोकेको अवधि झण्डै ११ महिना बाँकी छ ।
सेयर लगानीकर्ताहरुले व्यक्ति सीमालाई परिवारसँग जोेडेर एक व्यक्तिसँग भएको ऋण परिवारका अन्य सदस्यमा बाँडेर सीमाभित्र राख्ने योजना बनाए पनि केन्द्रीय बैंकको एकल ग्राहक कर्जा सीमाले लगानीकर्ताको योजनामाथि तुसारापात भएको छ । अहिले सेयर धितो कर्जा ठूला व्यक्तिहरुमा बढी केन्द्रित देखिन्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ जेठसम्म ९४ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ सेयरधितोमा ऋण प्रवाह भएको छ । २०७७ असारमा सेयर धितोमा ५० अर्ब ४० करोड ९७ लाख रुपैयाँ मात्रै ऋण थियो । एक वर्षमा करिब ९८ प्रतिशतले सेयर धितो कर्जा बढेको छ । असारमा अझ बढ्ने अनुमान गरिएको छ ।
यसबीचमा सबैभन्दा बढी १ करोडभन्दा माथिको ऋण बढेको छ भने २५ लाखभन्दा सानो ऋणको वृद्धि सबैभन्दा न्यून छ । १ करोडभन्दा बढीको सेयर धितो कर्जा ६४ अर्ब १४ करोड छ । जुन अघिल्लो वर्षको तुलनामा १०३.४ प्रतिशतले बढी हो । यस्तै ५० लाखदेखि १ करोडसम्म ११ अर्ब ४९ करोड रुपैयाँ छ । जुन अघिल्लो वर्षभन्दा ७६.८ प्रतिशतले बढी हो । २५ लाखदेखि ५० लाखसम्म १२ अर्ब ४१ करोड छ । जुन ११ महिनामा ६७.९ प्रतिशतले बढेको छ । २५ लाखसम्मको कर्जा ६ अर्ब ४९ करोड रुपैयाँ छ जुन ११ महिनामा ३०.५ प्रतिशतले मात्रै बढेको छ ।
राष्ट्र बैंकले त्यसअघि पनि बढ्दो सेयर बजारलाई नियन्त्रणमा लिन विभिन्न कदमहरू चालेको थियो । राष्ट्र बैंकले साउन ११ मा असल कर्जामा ०.३ प्रतिशत थप जोखिम बहन गर्ने व्यवस्था र लाभांशमा कडाइ गर्ने नीति लियो । यसले बैंक तथा वित्तीय संस्थाको नाफामा तत्काल ३० प्रतिशत कटौती गर्ने बुझाई आम लगानीकर्ताको रह्यो । तर, यसले पनि बजारलाई खासै असर गरेन । निर्देशन अघि सूचक साउन ११ गते ३०५०.४३ अंकमा रहेकामा त्यसको भोलिपल्ट सुुरुवाती चरणमा बजारमा केही ‘करेक्सन’ देखिए पनि अन्तमा भने बजार बढेर बन्द भयो र निरन्तर वृद्धिकै क्रममा रह्यो ।