काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा वाणिज्य बैंकले कमाएको नाफालाई अस्वाभाविक भन्न नमिल्ने बताएका छन् ।
केही दिनअघि संसदीय समितिमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भ?ट्टराईले बैंकका नाफा अचाक्ली भएको र यसलाई केन्द्रीय बैंकले गम्भीर रूपमा हेर्नुपर्ने बताएपछि गभर्नर अधिकारीले बैंकहरुको नाफा सामान्य मात्रै भएको टिप्पणी गरेका हुन् ।
‘बैंकहरू व्यवसायिक संस्था हुन् । उनीहरू नाफा कमाउनकै लागि आउँछन् । अहिले जति नाफा (६३ अर्ब ३७) करोड रुपैयाँ छ, त्यो स्वाभाविक पनि हो’ उनले क्यापिटल नेपालसँग भने, ‘नाफा कति हुनुपर्छ भन्ने कुनै नीति छैन ।
यद्यपि केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षण र वर्षौंदेखिको मेहनतले पारदर्शी भएर नाफा कमाएका हुन् । वित्तीय संस्थाको सबै कुरा वित्तीय विवरणमा देखिन्छ ।’
बैंकहरूको पुँजी नै धेरै भएका कारणले सामान्य नाफा लिँदा पनि अर्बमा नाफा देखिने उनको भनाइ छ । ‘अर्ब देख्नासाथ हामी सानो मुलुकका मान्छेलाई ठूलो हो कि भन्ने भ्रम उत्पन्न हुुन्छ ।
बैंकले भन्दा बढी नाफा कमाउने संस्था नेपालमा पनि धेरै छन्’ उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रका संस्थाले कमाएको नाफालाई हेर्ने हो भने हाम्रा वित्तीय संस्थाले कमाएको नाफा केही पनि होइन । त्यही भएर बैंकले कमाएको नाफा अस्वाभाविक छैन ।’
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कैयौं कम्पनीको नाफा बैंकको भन्दा राम्रो छ । बैंकले दिने प्रतिफलभन्दा अन्य कम्पनीले दिने प्रतिफल बढी भएकाले उनीहरूको मूल्य बढेको गभर्नर अधिकारीको भनाइ छ ।
सेयर बजारमासमेत कुन कम्पनीले कति नाफा कमाएको छ र उसको मूल्य कति छ ? त्यसैबाट पनि बैंकको नाफा अत्यधिक भन्न नमिल्ने केन्द्रीय बैंकका गभर्नर अधिकारीको भनाइ छ ।
हुन त बजारमा वर्षौंदेखि प्रतिफल नै नदिएका कम्पनीको सेयर मूल्य निरन्तर प्रतिफल दिने संस्थाको भन्दा धेरै माथि छ । वर्षौंसम्म प्रतिफल नदिने, वार्षिक साधारणसभा समेत नगर्ने विशाल बजार कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेसनल हाइड्रोलगायत दजर्नौ कम्पनीको मूल्य वाणिज्य बैंकको भन्दा बढी छ ।
अहिलेसम्म अधिकतम ५० प्रतिशत नगद लाभांश दिएको नेपाल टेलिकमको मूल्य पनि वाणिज्य बैंकको भन्दा धेरै माथि छ । त्यसैगरी, गत आर्थिक वर्षमा २५ प्रतिशत हाराहारी लाभांश बाँडेको साल्ट ट्रेडिङको मूल्य १३ हजार रुपैयाँसम्म पुगेर केही तल झरेको छ ।
२५ करोड ‘नेगेटिभ ब्यालेन्ससीट’ प्रकाशित गरेको चन्द्रागिरी हिल्सको मूल्य पनि बाणिज्य बैंकको भन्दा धेरै माथि छ । गभर्नर अधिकारीले नेपाली वित्तीय संस्थाको लगानीअनुसारको आम्दानी अस्वभाविक नभएको र यसका कुनै अंकुश लगाउन नपर्ने बताएका हुन् ।