काठमाडौं । विकास बैंकलाई केन्द्रीय बैंकले हकप्रदको अनुमति दिँदै छ भनेर हल्ला पिटेर विगत केही दिनयता विकास बैंकको सेयर बढाउने गिरोह सक्रिय भएको छ ।
व्यवसाय विस्तार गर्न विकास बैंकलाई केन्द्रीय बैंकले हकप्रद जारी गर्न दिने हल्ला चलाएर बजार प्रभावित बनाउन खोजिएको छ । र, विगत दुई हप्तामा धेरैजसो विकास बैंकको सेयर मूल्य झण्डै दोब्बरले बढिरहेको छ । तर, केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले विकास बैंकलाई हकप्रद दिने बारेमा कुनै छलफलसमेत नभएको तथा बजार बढाउन गरिएको हल्ला मात्रै भएको प्रष्ट्याएका छन् ।
केन्द्रीय बैंकको सञ्चालक समितिमा समेत छलफल भइसके पनि मौद्रिक नीतिमा नपरेको र छिटै विकास बैंकलाई हकप्रद दिने निर्णय आउने भन्दै विकास बैंकको सेयर मूल्यमा उछाल ल्याइरहेको अवस्था छ । तर, केन्द्रीय बैंकका गभर्नर अधिकारीले विकास बैंकलाई हकप्रद जारी गर्न नदिने प्रष्ट्याएका छन् ।
बजारमा चलेका हल्लाको पछि लागेर सेयर कारोबार नगर्न अधिकारीले लगानीकर्तालाई आग्रह गरेका छन् । ‘केही व्यक्तिहरु यस्ताखाले हल्ला चलाएर बेनिफिट लिन खोज्छन्,’ गभर्नर अधिकारीले भने, ‘तर, केन्द्रीय बैंकका अधिकारी, केन्द्रीय बैंकको मुखपत्र तथा प्रवक्तामार्फत सार्वजनिक भएको कुरा मात्रै पत्याउन र अन्य कुनै अफवाहको पछि लाग्नु हुँदैन ।’
नेपालको सेयर बजार एकदमै संवेदनशील भएकाले सामान्य हल्लाबाट पनि बजार नराम्ररी प्रभावित हुन्छ । यस्तो बेला निहीत स्वार्थ बोकेका व्यक्तिहरुले कमाउने र साना तथा सोझा लगानीकर्ता फस्ने सम्भावना हुने भएकाले आधिकारिक बुझेर मात्रै लगानी गर्न केन्द्रीय बैंकले आग्रह गरेको हो । विकास बैंकलाई हकप्रद जारी गर्न दिने विषयमा कुनै छलफलसमेत नभएको केन्द्रीय बैंकको भनाइ छ ।