काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले तरलता अभाव, कर्जा प्रवाहमा चाप र ब्याजदरमा समेत प्रभाव पर्ने संकेत गरेको बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सीबीफीन) ले जनाएको छ । मार्जिन ल्याण्डिङको परिभाषामा रहेको अस्पष्टताले समग्रमा आर्थिक, औद्योगिक, नयाँ उद्यमशिलता र उत्पादनमुखी अर्थतन्त्रको विकास एवं विस्तारमा संकुचन ल्याउने स्पष्ट संकेत देखिएको सीबीफीनले स्पष्टपारेको छ ।
सीबीफीनले पेश गरेको र बाफियाले स्पष्ट निर्देश गरेको संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न पाउने व्यवस्था, आधारदर गणना विधि पुरानै व्यवस्था अनुसार कायम गर्ने, ब्रोकर लाइसेन्स, नगद लाभांशको वितरणमा खुलापनको माग गरेको छ ।
यस्तै संस्थापक सेयरधितो कर्जा, विकास बैंक तथा वित्तीय संस्थाले स्वदेशी प्रतितपत्रको कारोबार गर्न पाउने र विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था गर्न सीबीफीनले ध्यानकर्षण गराएको छ ।
विकास बैंक तथा वित्तीय संस्थाले जारी गरेको बैंक जमानत स्वीकार, स्थानीय तहको खाता सञ्चालन र निक्षेप गणना, विकास बैंक तथा वित्तीय संस्थाले बैंक लेख्न पाउने जस्ता मौद्रिक नीतिले थाँती राखेका अति महत्वपूर्ण विषयहरुका वारेमा नेपाल राष्ट्र बैंकले सहभागितामूलक छलफल र वस्तुनिष्ट मूल्याङ्कन गर्दै एकिकृत निर्देशनमार्फत समयसापेक्षरुपमा सम्बोधन र सुधार गर्न सिविफिनको माग छ ।
बाँकी मौद्रिक नीतिले कोभिड–१९ को संक्रमण र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट सृजित समस्याहरुको न्यूनिकरण, जनअपेक्षाको सम्बोधन र विषम परिस्थितिबाट संकुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशिल बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका लागि सकरात्मक भएको उसको ठहर छ ।