काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिकमार्फत सेयर धितो कर्जामा सीमा (क्याप) लगाएपछि बैंकहरुले स्वीकृत भएको ऋण पनि दिन अटेर गरेका छन् । बैंकहरु स्वीकृत ऋणमा लाग्ने सेवा शुल्क पहिल्यै लिइसकेपछि अहिले धमाधम ऋण रोकेका हुन् । बैंकहरुले ऋणको सीमा स्वीकृत गराउँदा नै सेवा शुल्क लिइसकेका छन् । तर, अहिले बीचमै स्वीकृत भएको ऋण र सेयर दुवै रोक्का गरेका हुन् ।
विभिन्न बैंकहरुले आफ्ना ऋणीहरुलाई स्वीकृत ऋण दिन नसक्ने बताउँदै सेयर स्वीकृत ऋण रोक्का गरेका हुन् । सेवा शुल्क लिने अनि स्वीकृत ऋण नदिने गर्नु न्यायसँगत नभएको ऋणीहरुले बताएका छन् । आफ्नो भएभरको सम्पत्ति पनि रोक्का गर्ने र स्वीकृत ऋण नदिने निर्णय गरेपछि धेरै लगानीकर्ता गम्भीर समस्यामा परेका हुन् ।
केन्द्रीय बैंकले एक बैंकबाट ४ करोड र समग्र वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ भन्दा बढी ऋण दिन नपाइने व्यवस्था मौद्रीक नीतिमा गरेको छ । तर, कहिलेसम्म उक्त सीमाभित्र झारिसक्नुपर्ने भन्ने उल्लेख छैन् । त्यसका लागि केन्द्रीय बैंकले बैंकहरुलाई परिपत्र गर्नुपर्छ । तर, बैंकहरुले अहिले नै आफूखुसी स्वीकृत भएको ऋण नदिएका हुन् ।
‘भएभरको सेयर पनि बैंकले रोक्का राख्ने र स्वीकृत भएको ऋण पनि नदिने’ एक लगानीकर्ताले भने, ‘बैंकहरुले बीचमै स्वीकृत भएको ऋण रोक्दा घरबार समेत चलाउन गम्भीर समस्या भएको छ ।’
एकातिर बैंकमा लगानीयोग्य पुँजी छैन् । उनीहरुको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ९१ प्रतिशत भन्दा माथि छ । उनीहरुसँग कर्जा लगानी गर्न सक्ने क्षमता शून्यमा झरेपछि बैंकले धमाधम स्वीकृत भएको ऋण रोक्न थालेका हुन् ।
बैंकहरुले लाखौं ऋणीको ऋण स्वीकृत गरिसकेका छन् । त्यसबापत बैंकले सेवा शुल्कबापत पाउने ०.७५ प्रतिशत कमिसन लिइसकेका छन् । स्वीकृत भएको सम्पूर्ण ऋणको सेवा शुल्क लिने र ऋण नदिने खेलमा बैंकहरु लागेको उनीहरुको आरोप छ ।
बैंकका शाखा प्रमुखले माथिको निर्देशन भन्दै आफ्ना ऋणीको पैसा रोक्का गरेका हुन् । उनीहरुले न सेयर बेच्न सकेका छन्, नत ऋण लिन नै मिल्ने बनाइएको छ ।
यता बैंकरहरुले केन्द्रीय बैंकको नीतिका कारण केही अप्ठयारो परेको बताएका छन् । अहिले देखिएको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने उनीहरुको भनाइ छ ।