काठमाडौं । सूचीकृत २६ वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यो बैंकहरुको एक आर्थिक वर्षभरिको कमाई पनि हो । अर्थात चौथो त्रैमास वार्षिक विवरण पनि हो । यसअवधिमा सार्वजनिक वित्तीय विवरणअनुसार धेरै बैंकको खुद नाफा, वितरणयोग्य नाफा, खुद ब्याज आम्दानी लगायतका प्रमुख वित्तीय सूचकहरु बढेका छन् । चुक्ता पुँजीमा ग्लोबल आइएमई बैंक, जगेडा कोषमा नेपाल बैंक, खुद ब्याज आम्दानीमा एनआइसी एसिया बैंकको अग्रता रहेको छ ।
यता, खुद नाफा, वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानीमा भने नबिल बैंकले अग्रता लिएको छ । औसतमा यस वर्ष बैंकहरुले करिब २०% ले नाफा वृद्धि गरेका छन् । इन्डस्ट्री लेभलमा हेर्दा यो प्रगतिलाई राम्रो मान्नुपर्छ । कोभिडको चरम महामारीका बीचमा पनि बैंकहरुले प्रगति गर्न सफल भएका छन् । त्यसमा पनि केन्द्रीय बैंकको निकै कडा नियमन छ । विभिन्न कोष शीर्षकहरुमा नाफा र अन्य रकम छुट्याउनुपर्ने प्रावधानहरुका बीचमा बैंकिङ ग्रोथलाई सकारात्मकरुपमा लिनुपर्ने विज्ञहरु बताउँछन् ।
चुक्ता पुँजीमा अझै ग्लोबल आइएमई बैंक अगाडि
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको नै रहेको छ । ग्लोबल आइएमईको पुँजी १४% ले बढेर २१ अर्ब ६३ कारेड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा सिटिजन्स बैंक रहेको छ । सिटिजन्सको चुक्ता पुँजी ३८.३६% ले बढेर १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रुपैयाँ छ । बैंकले यसै वर्ष सिर्जना फाइनान्सलाई एक्वायर गरेकाले पुँजी धेरै बढेको हो । एक वर्षको अवधिमा २६ वटै वाणिज्य बैंकको चुक्ता पुँजी बढेको छ ।
जगेडा कोषमा नेपाल बैंक सबैभन्दा अघि
असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै जगेडा कोष नेपाल बैंकको छ । नेपाल बैंकको जगेडा कोष १६.६५% ले बढेर १५ अर्ब १४ करोड ८३ लाख ५८ हजार रुपैयाँ छ । यसअवधिमा २३ बैंकको जगेडा कोष बढेको छ । सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा लक्ष्मी बैंक रहेको छ । यसको जगेडा कोष ५४.५३% ले बढेर ४ अर्ब ४० करोड ७७ लाख १५ हजार रुपैयाँ छ । एनएमबि, सिभिल र सेन्चुरी कमर्सियल बैंकको जगेडा कोष भने घटेको छ ।
खुद ब्याज आम्दानीमा एनआइसी एसिया बैंकको अग्रता
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद ब्याज आम्दानी कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको खुद ब्याज आम्दानी २१.३३% ले बढेर ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकले ९ अर्ब ३ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ ।
सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढ्नेमा कुमारी बैंक रहेको छ । कुमारी बैंकको खुद ब्याज आम्दानी ४६.५६% ले बढेर ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा १२ बैंकको खुद ब्याज आम्दानी बढेको छ भने १४ बैंकको खुद ब्याज आम्दानी घटेको छ ।
नाफामा नबिलको अग्रता
असार मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकको खुद नाफा ३०.०६% ले बढेर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । ४ बैंकको खुद नाफा भने ३ अर्बभन्दा माथि छ । सबैभन्दा धेरै खुद नाफा बढ्नेमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको खुद नाफा ८४.१६% ले बढेर २ अर्ब २९ करोड २५ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा २२ बैंकको खुद नाफा बढेको छ । ४ बैंकको ने खुद नाफा घटेको छ ।
वितरणयोग्य नाफामा पनि नबिल अघि
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै वितरणयोग्य नाफा नबिल बैंकको रहेको छ । यसको वितरणयोग्य नाफा ३६.२९% ले बढेर ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ पुगेको छ । नेपाल बैंकको वितरणयोग्य नाफा ५८.२०% ले बढेर ३ अर्ब ४९ करोड रुपैयाँ छ ।
सबैभन्दा धेरै वितरणयोग्य नाफा बढ्नेमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको वितरणयोग्य नाफा २२८.४८% ले बढेर १ अर्ब ४७ करोड ५२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । २३ बैंकको वितरणयोग्य नाफा भने बढेको छ । स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र लक्ष्मी बैंकको वितरणयोग्य नाफा भने घटेको छ ।
प्रतिसेयर आम्दानीमा नबिल बैंक अगाडि
असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर अम्दानी नबिल बैंकको रहेको छ । नबिल बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ४० पैसा छ । एक वर्षको अवधिमा १९ बैंकको प्रतिसेयर आम्दानी बढेको छ । ७ बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा नेपाल बंगलादेश बैंक रहेको छ । नेपाल बंगलादेश बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४७ पैसाले बढेर २५ रुपैयाँ ४८ पैसा पुगेको छ ।