काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी किन्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले बम्पर सुधिवा दिएको छ ।
केन्द्रीय बैंकले गत शुक्रबार जारी गरेको मौद्रिक नीतिमा एउटै वर्गका नभए पनि समस्याग्रस्त घोषणा गरिएका कम्पनीलाई आफूमा समाहित गरेमा राष्ट्र बैंकले समकक्षी संस्था मर्ज गर्दा दिइने सुविधा दिने घोषणा गरेको हो ।
मौद्रिक नीतिको ११९ नम्बर बुँदामा वाणिज्य बैंकसँग बाणिज्य बैंक मर्ज भएमा मात्रै मर्ज गर्दा÷गाभिँदा दिइने सुविधा लागू हुने भनेको छ । तर, १२० नम्बर बुँदामा भने वाणिज्य बैंकले समस्याग्रस्त वित्तीय संस्था आफ्नो संस्थामा समाहित गरेमा पनि मर्ज गर्दाका सुविधा उपलब्ध गराउने उल्लेख छ ।
अहिले वाणिज्य बैंकले विकास बैंक र वित्त कम्पनी प्राप्ती गर्दा बैंकलाई मर्ज गर्दाको सुविधा नदिने नीति छ । तर, समस्याग्रस्त विकास बैंक र वित्त कम्पनी प्राप्ती गर्दा भने यो सुविधा दिने मौद्रिक नीतिमा उल्लेख छ ।
यही सुविधा समस्याग्रस्त नभएका विकास बैंक र वित्त कम्पनीले समस्याग्रस्त विकास बैंक र वित्त कम्पनी प्राप्ती गरेमा पनि मर्ज हुँदा दिइने सुविधा उपलब्ध गराउने भएको हो ।
नेपाल राष्ट्र बैंकले नेपाल सेयर मार्केट एन्ड फाइनान्सलाई २०६८ पुस २९ मा र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स २०६९ माघ १८ मा समस्याग्रस्त घोषणा गरेको थियो । यद्यपि, क्यापिटल मर्चेन्टमा नयाँ लगानीकर्ता भित्र्याउँदै सञ्चालनमा लागि बाटो खोलिएको थियो । तर, नयाँ समूहले पनि क्यापिटललाई चलाउन नसकेपछि केन्द्रीय बैंकले खरिदकर्ता खोजेको हो
त्यसैगरी, अन्य एक दर्जन बढी संस्थाहरुलाई समस्याग्रस्त गरेको भए पनि नयाँ लगानीकर्ता भित्रिए पछि कतिपय संस्थालाई पुन सूचारु गर्ने गरी बाटो खोलेको थियो भने सञ्चालनमा आउनै नसक्ने संस्थाहरुलाई खारेजीमा लगेको थियो ।
खरिद गर्दा के के पाउँछन् सुविधा ?
आर्थिक वर्ष २०७८/७९ भित्र वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोवार सञ्चालन गरेमा निम्न थप सुबिधा तथा छुट २०८० असार मसान्तसम्म प्रदान गरिनेछ
(क) तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने ।
(ख) एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट प्रदान गरिने ।
(ग) एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट प्रदान गरिने ।
(घ) यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने ।
(ङ) संचालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने ।
(च) यस बैंकको निर्देशन बमोजिम कायम गर्नु पर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट दिइने ।
(छ) एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गरिने ।
(ज) एकीकृत कारोबार संचालनको क्रममा १ कि.मि. भित्रका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिने ।
(झ) वाणिज्य बैकको ०.१० प्रतिशत वा सोभन्दा कम शेयर धारण गरेका संस्थापक समूहको शेयर धनीहरुले यस्तो शेयर बिक्री गर्दा फिट एण्ड प्रपर टेस्ट अनिवार्य नहुने व्यवस्था गरिने ।
समस्याग्रस्त कुन कुन संस्था सञ्चालनमा आए ?
नयाँ लगानीकर्ताको प्रवेशसँगै समस्या ग्रस्त वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स समृद्धि फाइनान्समा परिणत भएको छ । समस्याग्रस्त जनरल फाइनान्स नयाँ लगानीकर्ता भित्रिए पछि बेस्ट फाइनान्स भएको थियो र उसले सिनर्जी फाइनान्सलाई गाभेको थियो ।
समस्याग्रस्त रहेका नेपाल फाइनान्स र ललितपुर फाइनान्समा पनि नयाँ लगानीकर्ता भित्रिए पछि नयाँ स्वरुपमा सञ्चालन हुँदै आएकोमा पछि नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई आफूमा गाभ्यो ।
त्यस्तै, कुबेर मर्चेन्ट वित्तीय संस्थामा नयाँ लगानीकर्ता भित्रिए पछि सिटी एक्सप्रेस फाइनान्स बन्यो र पछि नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय भयो । समस्याग्रस्त गोर्खा डेभलपमेन्ट बैंक पनि काठमाडौं फाइनान्ससँग मर्ज हुँदै गोर्खाज फाइनान्समा परिणत भयो ।
अरुण फाइनान्समा पनि नयाँ लगानीकर्ता भित्रिएपछि हाथवे फाइनान्समा परिणत भयो र पछि ग्लोवल आइएमई बैंकमा बिलय भयो । त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक नारायणी डेभलपमेन्ट बैंकमा पनि नयाँ लगानीकर्ता भित्रिएपछि समस्यामुक्त भइ सुचारु भएका छन् । अहिले दुबै बैंकको सेयर बजारमा मूल्यमा उछाल आइरहेको छ ।
कुन कुन परे खारेजीमा ?
केन्द्रीय बैंकले सम्झना फाइनान्स, हिमालयन फाइनान्स र क्रष्टल फाइनान्स खारेजीको प्रक्रियामा लगेको छ । यद्यपि, क्रिष्टललाई समृद्धि फाइनान्सले खरिद गर्ने गरी प्रक्रिया अघि बढेको बताइएको छ ।
यस अघि खारेजीमा गएको नेपाल विकास बैंकको बाँकी स्वामित्व प्रभू बैंकले खरिद गरेको बताइएको थियो । नेपालको पहिलो विकास बैंकको रुपमा रहेको नेपाल विकास बैंक र युनाइटेड विकास बैंक भने यस अघि नै खारेज भइसकेका छन् ।