काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष ०७७/७८ मा खुदनाफामा उल्लेख्य सुधार गरेको छ । बैंकको नाफा ११८.१८ प्रतिशतले बढेर ४१ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले १९ करोड १० लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
कोभिड कहरमै पनि व्यवसाय वृद्धि भएका कारण खुदब्याज आम्दानीसमेत बढेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड रुपैयाँ रहेको खुदब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १९ करोड ७९ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
आइतबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य नाफा २८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सांग्रिलाले ४२ अर्ब ८४ करोड निक्षेप परिचालन गरी ३६ अर्ब २३ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ४६.४८ र ५१.८४ प्रतिशतको बढोत्तरी भएको हो ।
अघिल्लो वर्ष १५ करोड ३४ लाखमा सीमित ‘रिटेन अर्निङ’ बढेर यो वर्ष ३० करोड ४६ लाख रुपैयाँको उचाईमा पुगेको छ । ५४ करोड ५९ लाख रुपैयाँमा सीमित सञ्चित कोषको आकार बढेर ६७ करोड ५२ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकले नाफामा उल्लेख्य प्रगति गरेसँगै प्रतिसेयर आम्दानी(इपीएस) समेत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ७.३३ मात्र रहेको इपीएस दोब्बर बढेर यो वर्ष १५.२३ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, निक्षेप लागत ५.९६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत रहेको छ । असार मसान्तको प्रतिसेयर नेटवर्थ १३५.८१, पीई अनुपात २७.८३ गुणा र पुँजी पर्याप्तता अनुपात ११.८६ प्रतिशत रहेको छ ।