काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आजदेखि नै एक रुपैयाँ पनि लगानी गर्न नसक्ने भएका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ८५ प्रतिशतको सीसीडी रेसियोलाई खारेज गरेर सीडी रेसियो लागू गर्ने बित्तिकै बैंकको सीडी रेसियो ९१.१० प्रतिशत पुगेको हो ।
९० प्रतिशत भन्दा सीडी रेसियो पुगेपछि अहिले बैंकसँग नयाँ ऋण लगानी गर्ने क्षमता शून्य छ । केन्द्रीय बैंकले नयाँ व्यवस्था लागू गरेपछि बैंकमा लगानी योग्य रकम शून्यमा झरेको हो ।
बैंकरका अनुसार अहिले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम छैन । सीडी रेसियो लागू भएपछि निक्षेपको ९० प्रतिशत कर्जा लगानी गर्न पाउँछन् । अहिले नै धेरैजसो बैंकको ९० माथि सीडी रेसियो पुगेकाले बैंकहरुले निक्षेप उठाउन ब्याजदर बढाबढको प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
निक्षेपको ब्याजदर बढाउने बित्तिकै कर्जाको ब्याजदर बढ्छ । यसले सेयरबजारसहित समग्र अर्थतन्त्रमा गम्भीर धक्का पर्ने अर्थशास्त्रीहरु बताउँछन् ।
नयाँ मौद्रिक नीति आउनुपूर्वसम्म सीसीडी रेसियो ८५ प्रतिशत थियो । बैंकसँग ७८ प्रतिशत सीसीडी थियो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि ९० सीडी पुग्ने वित्तिकै बैंकको बैंकको सीडी सेरियो ९०.३३ पुगेको छ ।
यसले नयाँ लगानी ठप्प भएको छ । केन्द्रीय बैंकले ऋणपत्रलगायत कतिपय उपकरण सीडी भित्र कुन/कुन राख्ने निक्र्यौल नगरिकन बैंक तथा वित्तीय संस्याले एक रुपैयाँ पनि कर्जा लगानी गर्न सक्ने अवस्था नभएको बैकरहरुको भनाइ छ ।
केन्द्रीय बैंकका कारण बजारमा लगानीयोग्य तरलता अभाव हुने संकेत देखिएको छ । वाणिज्य बैंकको सीडी रेसियो ९१.१० प्रतिशत पुगेको छ । यसले ब्याजदर उच्च गतिमा बढ्ने सम्भवना देखाउँछ । अहिले वाणिज्य तथा विकास बैंकहरु कसले कुन ब्याजस्किम ल्याउँछ र आफू त्योभन्दा बढी स्किम दिएर डिपोजिट तान्ने दाउमा देखिन्छ । यदि त्यसो नगरे बैंक हात बाँधेर बस्नुको विकल्प छैन् ।
यसअघि नै तरलता अभाव भएको भनेर हल्ला खल्ला भइरहेका बेला राष्ट्र बैंकको निर्णयले तरलताको स्थिति शून्य प्रायः देखिएको छ । तथ्यांकमा तरलता देखिए पनि लगानी योग्य तरलता भने शून्य छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन २१ गतेसम्म ४६ खर्ब ५४ अर्ब रुपैयाँ संकलन भएको छ । त्यसमध्ये ४२ खर्ब ४ करोड रुपैयाँ लगानी भइसकेको छ । बैंकसँग ५० अर्ब रुपैयाँ मात्रै रकम छ । जुन लगानीयोग्य होइन ।