काठमाडौं । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीएल)ले राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीका लागि तालिम सञ्चालन गर्ने भएको छ । बिहीबार एनबीएलले बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार, चालू आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि नेसनल बैंकिङ इन्स्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्ने छ । इन्स्टिच्युटले गत वर्ष पनि बैंकका कर्मचारीको लागि तालिम सञ्चालन गरेको थियो ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नका लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिइरहेको बताएका छन् । साथै तालिमले बढिरहेको जोखिमको सामना गर्न सघाउ पुगेको उनले बताए । इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताए ।
उक्त तालिमले बैंकिङ क्षेत्रमा भएको ज्ञानको कमीलाई पूरा गरेको बताइएको छ । उनले निकट भविष्यमा नै एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीसंँग मिलेर बैंकिङ तथा वित्तीय विषयमा एक वर्षे स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु गर्नेसमेत जानएका छन् ।
उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतद्वय देवेशप्रसाद लोहनी, देवेन्द्र रमण खनाल, मानव संशाधन विभागका प्रमुख भीमप्रसाद घिमिरे, कम्पनी सचिव भोलानाथ पौडेल, नेसनल बैंकिङ इन्स्टिच्युटका हेड अफ प्रोग्राम धन थापा, प्रोग्राम म्यानेजर दर्पण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । बैंकले हाल सातै प्रदेश ७७ जिल्लामा २ सय ४७ वटा शाखा कार्यालय, २०९ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।