काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गरेर सेवा सुरु गरेका हुन् ।
ग्राहकको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्नको लागि क्रेडिट कार्ड सेवा सञ्चालन गरेको बैंकले जनाएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ उत्पादनको अनुसन्धान गर्नुपर्ने बताए । साथै बैंकका आधुनिक सेवाले ग्राहकको आर्थिक कारोबारमा सहजता हुने उनको भनाइ छ ।
त्यस्तै बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढेको बताएका छन् । उनकाअनुसार, नेपाल, भारत र भुटानमा चल्ने सो सेवा बैंकका सबै शाखा कार्यालयबाट सञ्चालन हुने बताएका छन् ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठले राष्ट्रि वाणिज्य बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाएकोमा खुसि व्यक्त गरेका छन् । उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताए ।
डिजिटल बैंकिङ विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमाभित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताएका छन् ।
बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेका छन् । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु, बैंकमा क्रियाशील ट्रेड युनियनका अध्यक्षलगायत कर्मचारीहरुको उपस्थिति थियो ।