काठमाडौं । डिजिटल भुक्तानीमा आक्रामक बजार रणनीतिमा उत्रेको स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी कार्ड) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नारायणप्रकाश भुजु नियुक्त भएका छन् ।
कम्पनी व्यवस्थापनले गत साउन १५ गतेदेखि लागू हुने गरी भुजुलाई सीईओमा नियुक्त गरेको अध्यक्ष कुसुम लामाले जानकारी दिइन् ।
भुजु यसअघि माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ प्रमुख रहेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट म्यानेजमेन्ट इन्फरमेसन सिस्टम र डिसिजन सपोर्ट सिस्टममा एमबीएस गरेका भुजुको सूचना प्रविधिमा २५ वर्षको अनुभव रहेको छ । २२ वर्ष उनले विभिन्न बाणिज्य बैंकमा आइटी डिपार्टमेन्टअन्तर्गत प्रमुख रहेर काम गरेका छन् ।
भुजुसँग म्यानमारको म्यानमार सिटिजन बैंकमा पनि डिजिटल बैंकिङ्गमा काम गरेको अनुभव छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा बोर्ड डाइरेक्टर रहिसकेका भुजुले आफ्नो करिअर मर्कान्टाइलमा सफ्टवयर प्रोग्रामरको रुपमा सुरु गरेका थिए ।
भुजुले कुमारी बैंकमा रहँदा बैंकिङ क्षेत्रमै पहिलोपल्ट इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ र मोबाइल वालेटको सुरुआत गरेका थिए ।
एससिटी कार्ड सन् २००१ म स्थापना भएर २००३ बाट सुरु भएको हो ।
एससिटी २०१८ बाट पब्लिक कम्पनी भएको हो । यसमा प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सांग्रिला बैंक, कामना सेवा विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको साझेदारी छ भने प्रभु ग्रुप र आइएमई ग्रुपको पनि व्यावसायिक समूहबाट लगानी रहेको छ ।