काठमाडौं । विभिन्न बैंकहरूले ‘थर्ड पार्टी वालेट’ प्रयोग गरेर कारोबार भइरहेका बेला नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले आफ्नै वालेट थैलीलाई तीव्रता दिएको छ । बैंकले गत चैतमा आफ्नो वालेट थैली सार्वजनिक गरेपछि वालेट व्यवसायमा प्रवेश गर्ने आफ्नो तयारीलाई तीव्र बनाएको हो ।
देशका सबैजसो बैंकहरूसँग हाल विद्युतीय भुक्तानीका लागि आ–आफ्नै मोबाइल बैंक एप सेवा छन् । तर, एनआईबीएलले भने आफ्नो मोबाइल बैंकलाई स्तराेन्नती गरी वालेट सेवामा प्रवेश गर्न थैली वालेट ल्याएको एनआईबीएल बैंककी बजार प्रमुख शोभा श्रेष्ठले जानकारी दिइन् ।
‘हाम्रो आफ्नै मोबाइल बैंकिङ एप पनि छ, बैंकलाई लिङ्क गराएर मोबाइल बैकिङ एपमा भएका सबै सेवा वालेटबाट लिन सकिन्छ । अन्य वालेटभन्दा यसमा फरक भनेको वालेट र बैंक दुवैको सेवा एउटै एपमा छ,’ श्रेष्ठले भनिन् ।
अन्य तेस्रो पक्षीय वालेट कम्पनीको तुलनामा बैंक भएको कारणले थैली वालेट अझ विश्वसनीय रहेको उनी बताउँछिन् । यसअघि विभिन्न ई–सेवा, खल्ती, सेलपे, आईएमई पेजस्ता थर्ड पार्टी कम्पनीहरूले वालेट सेवा बजारमा ल्याइरहेको अवस्थामा वालेटको डेडिकेटेड सेवा सुरु गर्ने एनआईबीएल पहिलो बैंक हो ।
‘डेडिकेटेड वालेट सेवालाई व्यावसायिक वालेट सेवामा विकास गर्ने बैंकको योजना छ,’ श्रेष्ठ भन्छिन् । हाल वालेट विकासको कामलाई अझ बढी परिस्कृत गर्नका लागि काम भइरहेकाले थैलीलाई एनआईबीएलका ग्राहकहरूले मात्र प्रयोग गर्न सक्छन् ।
यसबाहेक वालेट टु वालेट कारोबारका लागि हाल कनेक्ट आईपीएस पनि थैलीमा उपलब्ध छ । तर, एनआईबीएललाई कनेक्ट आईपीएसमा लिङ्क गराएका ग्राहकहरूले मात्र थैलीको पूरा सेवा लिन सक्छन् ।
यसबाहेक एनआईबीएलले सर्वप्रथम आफ्नो भिसा स्विच नेटवर्क सेवामा आबद्ध ११ वटा वाणिज्य बैंकहरूलाई पनि थैलीमा ल्याउने तयारी थालेको र यो केही समयमा पूरा हुने श्रेष्ठले जानकारी दिइन् ।
थैलीमा हालका लागि जोकोहीले पनि आफ्नो फोन नम्बर दर्ता गराई वालेटमा लग इन गर्न सक्छन् । अन्य बैंक अनबोर्ड नभइसकेकाले वालेट लोड गर्न नमिल्दा कारोबार भने गर्न सक्ने छैनन् । यद्यपि थैली वालेट नै प्रयोग गर्ने कुनै अर्को व्यक्तिले भने केवाईसी भेरिफाइ नगरी थैली चलाइरहेका त्यस्ता प्रयोगकर्ता दर्ता फोन नम्बरको आधारमा पैसा पठाउन सक्छन् ।
वालेटमा पैसा लोड भएको अवस्थामा थैलीबाट अन्य वालेटमा जसरी विभिन्न सेवा तथा युटिलिटी पेमेन्ट, रेस्टुराँ, विद्यालय फिहरू तिर्न सकिन्छ । वालेट विकासकै चरणमा रहेको हुँदा थैलीमा कारोबार सेवा केही समयका लागि निःशुल्क रहने बजार प्रमुख श्रेष्ठले जानकारी दिइन् ।
प्रयोगकर्ताले थैलीमा बैंक लिङ्क गरेको अवस्थामा बैंककाे तर्फबाट १०० रुपैयाँ लोड हुनेछ । साथै एनआईबीएल क्यापिटलले समेत आफ्ना डिम्याट खातावालाई थैलीमा बैंक लिङ्क गर्दा १०० रूपैयाँ प्रदान गर्नेछ । यसबाहेक नेपाल टेलिकम तथा एनसेलमा रिचार्ज टपअप गर्दा ४ र २ प्रतिशत क्रमशः क्यासब्याक पाउन सक्ने छन् ।
थैली ओभरड्राफ्ट
थैलीले आफ्नो वालेटमा जोडिएका मर्चेन्टहरूका लागि ओभरड्राफ्ट सुविधासमेत दिने बताएको छ । जसअन्तर्गत थैलीबाट गरेको कारोबार परिमाण र विश्वासनीयताको आधारमा वालेटमार्फत नै बैंकले प्रारम्भमा ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको ऋण सुविधा प्रदान गर्ने बताएको छ ।
‘प्रारम्भमा हामी मापदण्ड पूरा गरेका मर्चेन्टहरूलाई ५० हजार रुपैयाँसम्मको ऋण दिन्छौं । त्यसपछि प्रत्येक कारोबारमा १० पोइन्ट दिइनेछ र राम्रो पोइन्टअनुसार ५ लाख रुपैयाँसम्मको ऋण प्रदान गर्नेछौं,’ उनले भनिन् ।
श्रेष्ठका अनुसार यो ऋणको समयावधि एक वर्षको हुनेछ भने यसमा ब्याजदर आधारदरमा ४ प्रतिशत प्रिमियम रहने उनले बताइन् । थैलीमा ‘क्यास इन’ कारोबार दैनिक पाँच पटकसम्म दैनिक सीमा २५ हजार र मासिक ५० हजारसम्मको कारोबार गर्न सकिन्छ । यस्तै क्यासआउट कारोबार दैनिक १० पटकसम्म दैनिक सीमा ५ हजार र मासिक कारोबार २५ हजार रुपैयाँसम्म रहेको छ ।
यसबाहेक युटिलिटी तथा सेवा भुक्तानी दैनिक २० पटकसम्म दैनिक सीमा १ लाख र मासिक ५ लाख रुपैयाँसम्म गर्न सकिन्छ । वालेट टु बैंक र वालेट टु वालेटमा दैनिक २० पटकसम्म कारोबार गर्न सकिन्छ । यसमा दैनिक सीमा १ लाख र मासिक सीमा ५ लाख रुपैयाँ रहेको छ ।
केवाईसी भेरिफाइ नगरेको अवस्थामा दैनिक एक हजारसम्म र मासिक ५ हजारसम्म यसबाट कारोबार गर्न सकिन्छ । बैंकबाट बैंकमा भने दैनिक २० पटकसम्म २ लाख सीमा र मासिक १० लाख सीमाको कारोबार गर्न सकिन्छ ।
यो एप हाल एन्ड्रोइड र वेब भर्सनमा उपलब्ध छ । आईओएसमा भने केही समयमा ल्याउने कम्पनीको तयारी छ । हाल एनआईबीएलले वालेटको प्राविधिक तथा नेटवर्कको विकासको काम गरिरहेको श्रेष्ठ बताउँछिन् ।