काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष ०७७/०७८ मा खुदनाफा ३३.४० प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
अघिल्लो वर्ष ०७६/०७७ मा सिटिजन्सले १ अर्ब १९ करोड ८५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको अन्तरिम वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत वर्ष खुदनाफा ४० करोड रुपैयाँ बढेको उल्लेख गरेको छ । सो नाफाबाट बैंकले सेयरधनीहरुलाई १ अर्ब ८० करोड ६१ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने जानकारी दिएको छ ।
बैंकको निक्षेप तथा कर्जा लगानीमा वृद्घि, पुँजी पर्याप्तता अनुपात, तरलता, कर्जा निक्षेप अनुपात, संस्थागत निक्षेप अनुपात र अन्य सूचकाङ्कहरु सन्तोषजनक रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै खुदब्याज आम्दानी र वासलातको समग्र वृद्घिको फलस्वरुप नाफामा गत आर्थिक वर्षको तुलनामा उत्साहजनक सुधार देखिएको छ ।
व्यवसाय विस्तारको क्रममा बंैकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी असार २६ गतेदेखि संयुक्त कारोबार सुरु गरेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा सञ्जाल बढेको छ । कोभिडले बैंकिङ कारोबारमा असर परेता पनि खुदब्याज आम्दानी र अन्य आयमा हुन गएको वृद्धिको कारण नाफामा गत आर्थिक वर्षको तुलनामा सुधार देखिएको बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा बैंकको खुदब्याज आम्दानी २५ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकको खुदब्याज आम्दानी २ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ थियो ।
यस्तै फि कमिशन पनि ४३.३८ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३८ पैसा प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यसबीचमा बैंकको निष्क्रिय कर्जा बढेर २.७७ प्रतिशत पुगेको छ । यस्तै अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा १.५५ प्रतिशत थियो । निक्षेप लागत घटेर ५.८५, सीसीडी रेसियो ७७.४२, आधारदर ७.५५ र ब्याजदर अन्तर (स्प्रेड) ३.५९ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकको सञ्चित कोषको आकार बढेर ४ अर्ब ४१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब ३९ करोड २६ लाख रुपैयाँ थियो । यस्तै चुक्तापुँजी पनि बढेर १२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर १ खर्ब ४० अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकको निक्षेप ८८ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंकले ५३ अर्ब रुपैयाँ निक्षेप बढाएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै कर्जा सापटी पनि बढाएर १ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कर्जा सापटी ७८ अर्ब ५७ करोड रुपैयाँ थियो ।
बैंकका ग्राहकको संख्या १२ लाख र शाखा सञ्जाल १८९ वटा पुगेको छ ।