काठमाडौं । सनराइज बैंकले बारामा शाखा रहित बैंकिङ र कपिलवस्तुमा एटीएम सेवा विस्तार गरेको छ । बैंकले बाराको बारागढी गाउँपालिका–२ र कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ मा रहेको सशस्त्र प्रहरी बलको हेक्वामा एटीएम सेवा विस्तार गरेको हो ।
गत शनिबार उद्घाटन कार्यक्रम प्रमुख आतिथि बारागढी गाउँपालिका–२ का अध्यक्ष कृष्ण चौधरी, सनराइज बैंक निजगढ शाखाका शाखा प्रबन्धक प्रद्युम्न आचार्यको सभा अध्यक्षतामा भएको सनराइज बैंकले जनाएको छ । साथै इलाका प्रहरी कार्यालय बारागढी गापाको प्रमुख उमा शंकर गुप्तालगायत बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
त्यस्तै एटीएम सेवाको उद्घाटन सनराइज बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख सुनील मण्डलको प्रमुख अतिथि, सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गणका, गणपति सशस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीको अध्यक्षता र कपिलवस्तु नगरपालिका–६ का वडा अध्यक्ष रामदिनेश यादवको उपस्थितिमा भएको थियो ।
एटीएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाटसमेत एटीएम सेवाअन्तर्गत एटीएम कार्ड र बिना एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बलका कर्मचारीहरु र स्थानीय जनसमुदायलाई लक्षित गरी बैंकिङ पहुँच बढाउने उद्देश्यले सेवा सुरु गरेको बैंकले बताएको छ ।
अघिल्लो शनिबार अर्थात् साउन २ गते बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ चुहाडेमा ७८ औं शाखारहित बैंकिङ सेवाको सुरु गरेको थियो । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।