ललितपुर । राष्ट्रिय सहकारी बैंकले यो वर्ष १ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको भन्दा ५८ प्रतिशतले बढी रहेको छ ।
शुक्रबार सार्वजनिक भएको गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरणमा ७१ अर्ब ६८ करोड वासलात रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७÷०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । गत असार मसान्तसम्म बैंकको सेयर पुँजी २ अर्ब ८७ करोड रहेको छ ।
जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदरसहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदर सहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदरसहित ३५ अर्ब ९१ करोड पुगेको छ ।
बैंकले कर पश्चातको खुद नाफामा ४८ प्रतिशतको वृद्धिदर हासिल गर्दै १ अर्ब ६६ लाख कमाएको छ । यससँगै बैंक एक अर्बभन्दा माथि नाफा आर्जन गर्ने वित्तीय संस्थाहरुको क्लबमा समेत समावेश भएको छ ।
पछिल्ला वर्षहरुमा बैंकको शाखा बिस्तार, व्यवसाय तथा वित्तीय आकारमा उल्लेख्य वृद्धि देखिएको छ । पछिल्लो तीन वर्षको वित्तीय विवरणअनुसार बैंकको वासलातमा २ सय २७ प्रतिशत, सेयर पुँजीमा १ सय ७६ प्रतिशत, कर्जा लगानीमा १ सय ९० प्रतिशत, निक्षेप संकलनमा २ सय ३२ प्रतिशत र नाफामा २ सय १० प्रतिशतको वृद्धिदर देखिएको छ । सहकारी क्षेत्रमा सबैभन्दा ठूलो वित्तीय परिचालन गर्ने बैंकको वित्तीय अवस्था ूकू वर्गका केही वाणिज्य बैंकहरुभन्दा ठूलो र सुदृढ देखिएको छ ।
बैंकमा हाल देशका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ/संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु छन् । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालयमार्फत सदस्यहरुलाई सेवा दिइरहेको छ ।
बैंकले पछिल्लो तीन वर्ष लगातार १५ प्रतिशतले लाभांश वितरण गर्दै सेयर सदस्यहरुको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको छ । बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ/संस्थाहरुलाई सहकारी ऐनको व्यवस्थाअनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघ/संस्थाहरुलाई संरक्षित पुँजी फिर्ता कोषबाट रकमसमेत वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।