काठमाडौं । धितोपत्र दोस्रो बजारमा कुल बजार पुँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकले कायम गरेको छ । साउन ७ गते बिहीबार नेपाल दूरसञ्चार कम्पनीलाई पछि पार्दै नबिल बैंकले कुल बजार पुँजीकरणमा सर्वाधिक हिस्सा कायम गरेको हो ।
बिहीबार नबिल बैंकको १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार रूपैयाँ बराबरको बजार पुँजीकरण कायम भएको छ । बिहीबार नबिल बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५ रूपैयाँले बढेर १ हजार ४५९ रूपैयाँ पुगेको हो ।
गत साताको अन्तिम कारोबार दिन १ हजार ३५९ रूपैयाँ अन्तिम मूल्य रहेको बैंकको कुल बजार पुँजीकरण भने १ खर्ब ८३ अर्ब १९ करोड ५३ लाख ५२ हजार रूपैयाँ रहेको थियो ।
गत साताभन्दा यो साता बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता १०० रूपैयाँले बढेको छ । दोस्रो बजारमा हाल नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सेयर सूचीकृत रहेको छ ।
गत सातासम्म सर्वाधिक बजार पुँजीकरण रहेको नेपाल दूरसञ्चार कम्पनीको यो साता कुल बजार पुँजीकरण १ खर्ब ९४ अर्ब ४० करोड रूपैयाँ कायम भएको छ । यो रकम गत साताको अन्तिम कारोबार दिन १ खर्ब ९७ अर्ब १० करोड रूपैयाँ थियो ।
गत साता १ हजार ३१४ रूपैयाँ रहेको नेपाल दुरसञ्चार कम्पनीको अन्तिम सेयरमूल्य यो साता प्रतिकित्ता १८ रूपैयाँले घटेको हो । यस साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल दूरसञ्चार कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६ रूपैयाँले घटेर १ हजार २९६ रूपैयाँ कायम भएको छ ।
नेप्सेको वेवसाइटलाई आधार मान्दा हाल १३ समूहका १९१ कम्पनी सूचीकृत छन् । दैनिक कारोबारमा भने २२२ देखि २२५ ओटा कम्पनीहरुको शेयर कारोबार हुने गरेको छ । बिहीवार धितोपत्र दोस्रो बजारकै कुल बजार पुँजीकरण भने ४१ खर्ब ७९ अर्ब १७ करोड ४० लाख ७३ हजार रूपैयाँ पुगेको छ ।
गत साता यो रकम १० खर्ब १० अर्ब ९५ करोड ७० लाख ८१ हजार रूपैयाँ रहेको थियो । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण रकम १ खर्ब ६८ अर्ब २१ करोड ६० लाख ९२ हजार रूपैयाँ बढी कायम भएको हो ।