ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मरिङदेन गाउँपालिकामा आयोजना स्थल रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनामा विभिन्न सात वाणिज्य बैंकले रु सात अर्ब लगानी गर्ने भएका छन् ।
युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवर्द्धन रहेको सो आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएका हुन् । कुल ७ अर्ब रुपैयाँमध्ये ६ अर्ब ७५ करोड रुपैयाँ आवधिक कर्जा र २५ करोड रुपैयाँ चालू पूँजी कर्जा लगानी गर्ने सम्झौता भएको छ ।
प्रवर्द्धन युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको आज जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाको कूल लागत ९ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वलगानी रहेको छ ।
सम्झौतानुसार सिटिजन्स बैंकले १ अर्ब ४५ करोड रुपैयाँ, कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले समान रुपमा एकरएक अर्ब रुपैयाँ, एसबीआई बैंकले ८० करोड रुपैयाँ र सिभिल बैंकले ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुङ्गेसाँघुमा सबस्टेशनमा जोडिनेछ ।