काठमाडौं । ग्लोबल आईएमई बैंकका कर्मचारीले वार्षिक बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने भएको छ । कोरोनाको कारण विदेशी पर्यटकको आवत–जावतमा कमी रहेकाले आन्तरिक पर्यटकलाई बढाउने उद्देश्यले बैंकले उक्त योजना ल्याएको हो ।
कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको बैंकको जनाएको छ । सोही कुरालाई मध्यनजर गर्दै केही हदसम्म आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन वार्षिक तलबी बिदा लिने कर्मचारीले
अनिवार्य रुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले बताएको छ । ग्लोबल बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले बैंकिङ सेवाको पहुँच पुर्याउन ७ वटै प्रदेश तथा ७६ जिल्लामा २ सय ७३ शाखा, २ सय ४८ एटीएम, २ सय ५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालनमा रहेका छन् ।
साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय गरी ८ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।