काठमाडौं । मेगा बैंक नेपाल १२औँ वर्षमा प्रवेश गरेको छ। यो अवसरमा बैंकले पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए।
राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जामा बैंक केन्द्रीत रहेको शाहले बताए। साथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमूलक तथा रोजगारमूलक उद्योग व्यवसायमा बैंकको लगानी केन्द्रित रहनेछ।
‘देशमा व्यापार तथा रोजगारी सिर्जना गर्न साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गर्नेछ’, उनले भने।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकले ग्राहकहरुलाई आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको बताइन्। यो अवधिमा ग्राहकहरुलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको उनको भनाइ छ।
बैंकले वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग पनि गरेको छ।
यो बैंकको हालसम्म १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्स्टेन्सन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवा छ।