काठमाडौं । नबिल बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) बिक्री गर्ने तयारी गरिरहेको छ । संस्थागत र सर्वसाधारणलाई बिक्री गरिने यो ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याजदर दिइनेछ । सात वर्ष अवधिको नबिल डिबेञ्चर २०८५ मा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
नबिल डिबेन्चर २०८५ को प्रयोजन र प्रतिफलका विषयमा केन्द्रित रहेर नबिलका चिफ मार्केटिङ अफिसर कविन्द्रप्रसाद श्रेष्ठसँग क्यापिटल नेपाल डट कमले गरेको कुराकानीको सम्पादित अंश
तरलता सहज भएको बेला आर्थिक वर्षको सुरुमै नबिल बैंकले ऋणपत्र बिक्रीको योजना बनाएको छ । यतिबेला ऋणपत्र बिक्री गर्नैपर्ने के बाध्यता आइलाग्यो ?
केन्द्रीय बैंकले पोर्टफोलियो व्यवस्थापन गर्दा कुल चुक्ता पुँजीको २५ प्रतिशत रकमबारबको ऋणपत्र बिक्री गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नबिलले अहिले राष्ट्र बैंकको नियमअनुसार पुँजीको आधार तय गर्न ऋणपत्र बिक्री गर्न लागेको हो ।
अहिले नबिललाई पुँजीको खासै आवश्यकता छैन तर, नियामकीय नियमको अनुपालन गर्न ऋणपत्र बिक्री गर्नुपर्ने अवस्था आएको हो । यद्यपि अहिले बिक्री गरेको ऋणपत्रले दीर्घकालमा बैंकको थप पुँजीको आवश्यकतालाई सम्बोधन गर्छ र बैंकले त्यसैअनुरुप दीर्घकालीन लगानी नीति बनाउन बाटो खुल्छ ।
ऋणपत्रको ब्याजदर ८ प्रतिशत तोकिएको छ । नबिल ऋणपत्रको ब्याजदर दर अन्य बैंक तथा संस्थाहरुको भन्दा पनि कम भएन र !
ऋणपत्र जारी गर्दा बजारमा निक्षेपको ब्याजदर जति छ, त्यसकोभन्दा केही बढी व्याजदर ऋणपत्रमा दिने गरिन्छ । ऋणपत्रले अल्पकालीनभन्दा दीर्घकालीन पुँजीको अभावलाई सम्बोधन गर्ने भएकाले पनि तत्काल कायम व्याजदरभन्दा केही बढी हुनुपर्छ । पछि निक्षेपको ब्याजदर बढ्दा पनि लगानीकर्ता निराश हुनु नपरोस् ।
बजारमा प्रचलित परिस्थितिभन्दा धेरै बाहिर जान सकिन्न । अहिले मुद्दती निक्षेपको ब्याजदर साढे ६ देखि ७ प्रतिशतसम्म छ । कतिपय बैंकमा त ६ प्रतिशतभन्दा कम पनि छ । नबिल बैंकको एक वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५१ प्रतिशत छ । त्यसैले ऋणपत्रको ब्याजदर हाम्रो आफ्नै मुद्दती निक्षेपको ब्याजदरभन्दा डेढप्रतिशत माथि राखेका छौं । नबिल डिबेञ्चरको ब्याजदर चलनचल्तीको भन्दा निकै आकर्षक छ ।
ऋणपत्र किनेर राख्दा ७ वर्षका बीचमा समस्या परेका बेला प्रयोग गर्न नपाउँदा समस्या हुन्छ । ७ वर्षअघि नै कसरी प्रयोग गर्ने त ?
निश्चिय पनि नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र सात वर्षका लागि बिक्री गर्न लागेको हो । ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ रहेको ऋणपत्र न्यूनतम २५ कित्तासम्म लिन पाइन्छ । वार्षिक ८ प्रतिशत ब्याजदरका हिसावमा अर्धवार्षिक रुपमा पाकेको व्याज भुक्तानी दिइने सुविधा छ ।
७ वर्षपछि लगानीकर्ताले आफूले लगानी गरेको सबै सावाँ रकम पाउँछन् । अर्कोतिर डिबेञ्चर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएर कारोबार हुने भएकाले आवश्यकताअनु्सार बिक्री गर्न पनि सकिन्छ । त्यस्तै, आफूसँग भएको ऋणपत्र आवश्यकता परेको बेला बैंकमा धितो राखेर अल्पकालिन रुपमा ऋण लिई गर्जो टार्न सकिन्छ ।
पैसा भएको बेला ऋण तिरेर फेरी आफ्नो ऋणपत्र आफैंसँग राख्न सकिन्छ । वित्तीय विवरण राम्रो भएको, कार्यशैली तथा कार्य प्रक्रिया विधिसम्मत भएको र स्वनियमनमा रहेको ३७ वर्ष पुरानो स्थापित बैंकले बिक्री गर्न लागेको ऋणपत्र ढुक्क भएर किन्दा हुन्छ । नबिलको ऋणपत्र किनेर लगानीकर्ताले डराउनु पर्दैन ।
सेयरको प्रथामिक निष्कासन (आईपीओ)मा जसरी ऋणपत्रप्रति खासै रुचि त देखिँदैन नि !
आईपीओमा पर्ने शेयरको मूल्य वृद्धिजस्तो गुण ऋणपत्रमा हुँदैन । तर, ऋणपत्रको लगानीमा राम्रो प्रतिफलको सुनिश्चितता गरिएको हुन्छ । ऋणपत्रको महत्व र आकर्षणलाई बुझाउन नसक्दा केही समस्या भएको अनुभव बेलाबेलामा हुन्छ ।
बैंक आफैंमा सुरक्षित लगानी भएको बलियो संस्थाका कारण सावाँ नडुब्ने र उच्च ब्याज पाइने भएकाले एकथरि लगानीकर्ता आकर्षित भएको पाइन्छ । अन्तर्राष्ट्रियस्तरको कारोबार तथा नियमहरुको पालना गर्ने र केन्द्रीय बैंकले नियमन गर्ने संस्था हो, बैंक । बजारमा भएको प्रतिफल दरका आधारमा ऋणपत्रको मूल्य तोकिनु पर्ने भए पनि नेपालमा लगानीकर्ताहरु इक्विटी सेयरतिर बढी आकर्षित हुने र ऋणपत्रतिर कम आकर्षित हुने गरेको पाइन्छ ।
प्रायः बैंकहरुले ऋणपत्र बिक्री गरिरहेका छन्, नबिलकै ऋणपत्र नै किन रोज्ने त ?
लगानीकर्ताले जहिले पनि लगानी विविधिकरण गर्नुपर्छ । अर्थात् आफूसँग भएको पैसा सबै एकै ठाउँमा लगाउनु हुँदैन । सबै लगानी एकै ठाउँमा लगाउँदा सो क्षेत्रमा समस्या आयो भने आफ्नो सबै लगानी डुब्ने सम्भावना रहन्छ । त्यसकारण जोखिम न्यूनीकरण गर्न पोर्टफोलियो व्यवस्थापनमा ध्यान दिनुपर्छ र लगानीको एउटा ऋणपत्रलाई पनि बनाउनुपर्छ । यसो गर्दा लामो समयमा अप्ठ्यारो पर्दा एउटा नहुँदा अर्को अस्त्रको प्रयोग गरेर तत्कालिन समस्याबाट बाहिर निस्कन सकिन्छ । अब्बल बैंकको ऋणपत्रमा निसंकोच लगानी गर्दा कुनै किसिमको डर रहँदैन ।